काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपद् पूर्वतयारी, पूर्वसूचना र दिगो पर्वतीय विकासमा नेपाल र चीनले तत्काल संयुक्त प्रयासबाट काम गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । नेपाल र चीनबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वार्षिकोत्सवको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपाल र चीन मिलेर प्रयास गर्नुपर्ने बताउनुभएकाे हाे ।
उहाँले विश्वले बढ्दो जलवायु संकटको सामना गरिरहेको बेला, नेपालले हिमालय, पारिस्थितिक प्रणालीहरूको रक्षा गर्न चीनसँगको सम्बन्धलाई अझ बलियो बनाउँदै जानुपर्ने जरुरी देखिएको बताउनुभयो । प्रधानमन्त्री ओलीले हालै रसुवामा भएको विपद्ले दुवै देशमा ठूलो विनाश निम्त्याएको बताउनुभयो ।
पूर्वाधार र कनेक्टिभिटीमा चीनको समर्थनले नेपाललाई यसको भौगोलिक अवरोधहरू पार गर्न मद्दत गरेको भन्दै उहाँले राष्ट्रिय पुनरुत्थानमा चीनको उल्लेखनीय उपलब्धिहरूलाई पनि स्वीकार गरेर अघि बढिरहेको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले सभ्यतागत ऐतिहासिक जग र सांस्कृतिक सामीप्यमा आधारित नेपाल र चीनबीचको सम्बन्ध पारस्परिक सम्मान र जनस्तरको आत्मीयताले अझ समृद्ध बनेको बताउनुभयो ।





