२०८२,२,१९
राष्ट्रिय मानवअधिकार आयोगले नागरिकको सहजरूपमा आवतजावत गर्ने अधिकार सुनिश्चित गर्न सार्वजनिक यातायात व्यवसायीहरूलाई आग्रह गरेको छ। आज आयोगले विज्ञप्ति जारी गर्दै आम(नागरिकको अधिकारमा पर्नजाने असरप्रति संवेदनशील हुँदै यातायात जस्तो अत्यावश्यक सेवा बन्द नगर्न आग्रह गरेको हो। आयोगले गण्डकी प्रदेश सरकारले राइड सेयरिङसम्बन्धी कानून ल्याएको भन्दै यातायात व्यवसायीहरूले सातबुँदै मागसहित सार्वजनिक यातायात बन्द गर्दा सर्वसाधारणले आवतजावतमा भोग्नु परेको समस्याप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
आयोगले कानून निर्माण गर्दा सम्बन्धित सरोकारवालाहरूसँग पर्याप्त छलफल गर्न, पेशा व्यवसाय सञ्चालनमा देखिएका समस्यालाई वार्ता र संवादका माध्यमबाट समाधान खोज्न र यातायात सेवा सञ्चालन हुने वातावरण सिर्जना गरी सहजरूपमा आवतजावत गर्ने नागरिकको अधिकार सुनिश्चित गर्न सरकारलगायत सम्बद्ध सबै पक्षलाई आग्रह गरेको छ।




