काठमाडौं, १९ माघ । पहिलो प्रदेश संसद बैठक नजिकिँदै गर्दा विभिन्न प्रदेशमा मुख्यमन्त्री एवं मन्त्रिपरिषदको कार्यालय स्थापना गरिएको छ ।
२१ गतेका लागि पहिलो प्रदेश सभा बैठक तोकिएको प्रदेश नम्बर ५ मा शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय स्थापना गरिएको छ । अन्य मन्त्रालयका कार्यालय समेत शुक्रबार नै स्थापना गरिएको छ ।
रुपन्देहीमा रहेका सरकारी भवन मध्येकै सबैभन्दा अग्लो र अत्याधुनिक मानिएको ६ तले श्रम कार्यालयको भवनमा ४ मन्त्रालय रहने भएका छन् । नयाँ भवनमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्थापना गरिएको छ भने शुक्रबार मात्रै मन्त्रालयको बोर्ड टांगिएको छ । उक्त भवनकोे चौथो र पाँचौ तलामा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय बस्ने प्रमुख सचिव शंकर पाठकले जानकारी दिए ।
यस्तै प्रदेश नम्बर ६ मा पनि मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय स्थापना गरिएको छ । पहिलो प्रदेश संसद बैठक नजिकिँदै गर्दा अस्थायी राजधानी सुर्खेतको वीरेन्द्रनगरमा शुक्रबार कार्यालय स्थापना गरिएको हो ।
साविकको मध्यपश्चिमाञ्चल क्षेत्रीय प्रशासन कार्यालय रहेको भवनमा मुख्यमन्त्रीको कार्यालय स्थापना गरिएको छ । प्रदेश नम्बर ६ मा आगामी फागुन २ गतेसम्म मुख्यमन्त्रीको टुङ्गो लाग्ने भएकाले करिब एक हप्ता अघि नै मुख्यमन्त्रीको कार्यालय स्थापना गरिएको हो । साथै, मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को मुख्य सचिवका रुपमा क्षेत्रीय प्रशासक सुरेश प्रधानले जिम्मेवारी सम्हालेका छन् ।