२०८१,९,१०
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सञ्चार जगतले लोकप्रियतावाद र अराजकतालाई प्राथमिकता दिन नहुने बताएका छन्। बुधबार प्रेस चौतारी नेपाल र प्रेस युनियनले काठमाडौंमा संयुक्त रुपमा आयोजना गरेको पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै यस्तो बताएका हुन्।उनले नेपाली राजनीतिकमा पछिल्लो समय लोकप्रियतावाद र राजनीतिमा अराजकता मौलाउँदै गएको बताए। उनले पपुलिजम र राजनीतिकमा अराजकताका विषयमा ध्यान दिन जरुरी रहेको बताए।
वरिष्ठ उपाध्यक्ष पोखरेलले सञ्चार जगतले पत्रकारिताको माध्यमबाट राजनीतिक पार्टीहरुका कमजोरीहरु बाहिर ल्याएर सुधारको लागि सकारात्मक दबाब सिर्जना गर्नुपर्ने बताए।उनले नेपालमा गौरवशाली इतिहास बोकेका राजनीतिक पार्टीहरु रहेको बताए। उनले राजनीतिक अराजकता र लोकप्रियतावादको पछाडि लागेर सञ्चार क्षेत्र अघि बढ्दा मुलुकको लागि दुर्भाग्य हुने बताए।
उनले पत्रकारिता पनि राजनीतिक अराजकता र लोकप्रियतावादबाट जोगिन जरुरी रहेको बताए।उनले भने, ‘पछिल्लो समय राजनीतिकमा अराजकता र पपुलिजम देखापरेको छ। यी दुई कुराले जरा फैलाउँदै छ। अराजकताको एउटा र पपुलिजमको अर्को समूह छ। यी दुवै कुरालाई हामीले ख्याल गर्नुपर्ने छ। राजनीतिक पार्टीहरुका कमजोरीहरु छन् त्यसलाई सञ्चार जगतले देखाउनु पनि पर्छ। सुधारको लागि सकारात्मक दबाब सिर्जना गर्नुपर्छ।’
उनले नेपालमा कम्युनिष्ट र काँग्रेस नेपाली राजनीतिमा मूल भूमिका निर्वाह गर्दै आएका पार्टी भएकाले बहुआयामिक सम्बन्ध रहेको बताए। उनले मुलुकमा अफ्ठ्यारो परिस्थिति आउँदा दुई पार्टी मिलेर सबै क्रान्तिहरु पूरा गरेको दाबी गरे।