२०८१,८,२८
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले अनुमति दिएर दर्ता भएका कम्पनीमार्फत मात्रै घरजग्गा किनबेच गर्ने कानून छिटै कार्यान्वयनमा ल्याउने बताएका छन्।शुक्रवार नेपाल जग्गा तथा आवास विकास महासंघको तेस्रो महासभामा मन्त्री पौडेलले यस्तो बताएका हुन्। उनले सरकारले अनुमति प्राप्त कम्पनीहरूबाट मात्रै घरजग्गा कारोबार हुने ऐन बनाए पनि कार्यान्वयनका लागि नियमावली आवश्यक रहेको बताए।
उनले उक्त नियमावली चाँडै बनाएर ऐन कार्यान्वयन गर्ने पक्षमा सरकार रहेको उल्लेख गरे। उनले ब्रोकर लिएर मात्रै घरजग्गाको कारोबार गर्न पाउनुपर्ने व्यवसायीहरूको मागमा सरकार सकारात्मक रहेको उल्लेख गरे। उनले निजी क्षेत्रलाई ल्याण्डपुलिङको मान्यता दिने विषयमा सरकारले सोचिरहेको पनि बताए।
अर्थमन्त्री पौडेलले जग्गा हदबन्दी व्यवस्थाले विगतमा उपयुक्त काम गरे पनि अब समयानुकूल कानून संशोधन आवश्यक रहेको धारणा राखे। उनले हदबन्दी व्यवस्थाले कृषि व्यवसाय गर्न, सौर्य ऊर्जाको काम गर्न धेरै समस्या देखिएको भन्दै त्यसलाई समाधान गर्न सरकार तयार रहेको उल्लेख गरे। उनले घरजग्गा व्यवसायमा देखा परेका समस्या अध्ययन गरी सरकारले सहयोग गर्ने र धराशायी हुन नदिने प्रतिबद्धता जनाए।
मन्त्री पौडेलले भने‚ ‘ब्रोकर लिएर मात्रै घरजग्गाको कारोबार गर्न पाउनुपर्ने व्यवसायीहरूको माग छ। त्यस विषयमा पनि व्यवसायीहरूसँग छलफल गरेर निर्णयमा पुग्छौं। निजी क्षेत्रले पनि ल्याण्ड पुलिङ गर्न पाउनुपर्ने कोणबाट सुझाव सकारात्मक छ। शहरी विकास ऐन चाँडै आउनुपर्छ भन्ने मागलाई सम्मान गर्न चाहन्छु। हदबन्दीको व्यवस्थाले समाजलाई अगाडि लैजाने सन्दर्भमा सकारात्मक योगदान गरेको थियो। जमिनदारी व्यवस्था अन्त्य गर्न महत्वपूर्ण भुमिका खेलेको थियो। विगतको भूमि सम्बन्धि हदबन्दीको व्यवस्था जस्ताको त्यस्तै राखेर घरजग्गा कारोबारमा देखिएका आजका समस्या र चुनौती समाधान हुन सक्दैन। रियल स्टेड क्षेत्रमा हदबन्दीले समस्या बनाएको छ।’
उनले नेपालका शहर, बस्ती, खानेपानी, ढललगायतको विकास गर्न शहरी विकास मन्त्रालय स्थापना गरिएको बताए। विदेशीलाई अपार्टमेण्ट बेच्न पाउने मागलाई तत्काल कार्यान्वयन गर्नसक्ने अवस्था नभएको संकेत गरे।