मंसिर २५ ,मंगलबार
नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले विदेशी कम्पनीहरुले नेपालमा लगानी गरेर कमाएको मुनाफा बाहिर लैजान नदिँदा विदेशी कम्पनीहरु नेपालमा लगानी गर्न डराइरहको बताउनुभएको छ ।मंगलवार मानवअधिकार तथा शान्ति समाजले काठमाडौंमा आयोजना गरेको नागरिक संवाद कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताउनुभएको हो । उहाँले नेपालले विदेशी लगानीकर्ताहरुले नेपालमा लगानी गरिदियोस् भन्ने चाहेर मात्र उनीहरु लगानी गर्न नआउने बताउनु भयो । सरकारले विदेशी लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्ने वातावरण अझै बनाउन नसकेको उहाँको तर्क थियो ।
रोजगारी दिने काम सरकारको नभई निजी क्षेत्र भएको उल्लेख गर्दै उहाँले त्यसको लागि सरकारले सहज वातावरण सिर्जना गरिदनुपर्ने बताउनु भयो । नेपालमा एक आर्थिक वर्षमा पाँच लाख मानिसलाई रोजगारी दिनसक्ने गरी निजी क्षेत्रलाई चलायमान बनाउनुपर्ने बताउनु भयो । सूचना प्रविधिको क्षेत्रमा काम गरिरहेका नेपाली कम्पनीहरुलाई विदेशी मुद्रा सटही गरेर नेपाल बाहिर पनि लगानी गर्न दिनुपर्ने उहाँको भनाइ छ । उहाँले सूचना प्रविधिको क्षेत्रमा काम गरिरहेका कम्पनीहरुको लागि बाहिर लगानी गर्न राष्ट्र बैंकले बाटो खोलिदिनुपर्ने बताउनु भयो । विश्वभर आर्थिक आय बढ्दापनि जनसंख्या घट्दै गएको उल्लेख गर्दै महामन्त्री थापाले अबको २० वर्षपछि नेपाल पनि जापान र कोरियाजस्तै राष्ट्र बन्ने बताउनु भयो ।




