काठमाडौं,२४ माघ । राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिले नागढुंगा–सिस्नेखोला सुरुङमार्गको अवलोकन गरेको छ । मंगलवार समितिका सभापति प्रकाश पन्थको नेतृत्वमा समितिका सदस्यहरुले नागढुंगा–सिस्नेखोला सुरुङमार्गको अवलोकन गरेका हुन् ।
सुरुङमार्गको अवलोकनपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सभापति पन्थले सरकारले द्रुत गतिमा काम अगाडी बढाएको खण्डमा एक वर्षभित्रमा सुरुङमार्गका काम सम्पन्न हुने बताउनु भयो । उहाँले आयोजना समयमै सम्पन्न हुनुपर्नेमा आफूहरुको जोड रहेको उल्लेख गर्नुभयो । आयोजनामा केही स्थानमा जग्गाको मुआब्जा दिने बाहेकका धेरै ठूला समस्याहरु नरहेको जानकारी आफूहरुले पाएको उहाँले बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘यो ऐतिहासिक छ । समयमै यो सम्पन्न हुनुपर्छ भन्नेकुरामा हामी सबैको जोडबल छ । त्यहाँ जग्गा लगायत केही मुआब्जामा सामान्य समस्याहरु बाँकी रहिरहेको भन्ने देखिएको छ । सरकारले त्यो समस्याको समयमै समाधान गर्नुप¥यो । दु्रत गतिका काम ग¥यो भने १ वर्षभित्रमा सुरुङमार्ग सम्पन्न हुने देखिन्छ । सबै समस्या समाधान गरी यसैमा केन्द्रीत भएर सरकारले द्रुत गतिमा काम गर्ने देखिन्छ । मुआब्जा बाहेक समस्या देखिएको छैन । समितिमा फेरि छलफल गरेर समस्या चाँडै टुंग्याउ भनेर सरकारलाई निर्देशन दिन्छौँ र फलोअप पनि गर्छौं ।’
सभापति पन्थले समितिमा पुनः नागढुंगा–सिस्नेखोला सुरुङमार्गको सम्बन्धमा छलफल गरेर चाँडै निर्माण सम्पन्न गर्नका लागि सरकारलाई निर्देशन दिने बताउनु भयो ।




