काठमाडौं,१७ माघ । अवैध लागुऔषधसहित विभिन्न स्थानबाट ५ जना पक्राउ परेका छन् । मोरङको विराटनगर महानगरपालिका–१५ बैंक रोड चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १९ ग्राम ३३ मिलिग्रामसहित सोही महानगरपलिका–१७ बस्ने १९ वर्षीया अनिता बैठालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेकी उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा बैठाले उक्त पदार्थ विराटनगर महानगरपालिका(१७ घर भई सोही महानगरपालिका –१६ बर्मा टोल डेरा गरी बस्ने ३० वर्षीया सरस्वती गुरूङबाट ल्याएको खुल्न आएपश्चात प्रहरीले गुरूङको कोठा तलासी गर्दा डिजिटल तराजु १ थान फेला पारी उनलाई समेत पक्राउ गरेको हो ।
यसैगरी मोरङ, पथरीशनिश्चरे नगरपालिका–४ बकाईनोडाँडा बस्ने ३३ वर्षीय चित्र कुमार रपाल ९वि।क०लाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २५ ग्राम, मोबाइल ५ थान र डिजिटल तराजु १ थानसहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
त्यस्तै, झापा, मेचिनगर नगरपालिका–६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्रामसहित बुद्धशान्ति गाउँपालिका–५ बस्ने २२ वर्षीय स्मार्ट थेवेलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यसैगरी, सिरहाको लहान नगरपालिका–१२ भोटिया टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम, डिजिटल तराजु १ थान र नगद २५ हजार ९ सय ९० रूपैयाँसहित सोही ठाउँ घर भई सोही नगरपलिका–१२ भोटिया टोल डेरा गरी बस्ने २३ वर्षीय अजय कुमार पुर्वे सुडीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले सुडीको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।