काठमाडौं,८ माघ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले आधुनिक प्रविधिको दुरूपयोगबाट हुन सक्ने अपराधहरू प्रति सतर्कता अपनाई नियन्त्रण र अनुसन्धानमा पूर्वतयारी गर्नु आजको अपरिहार्य आवश्यकता रहेको बताउनुभएको छ । साथै उहाँले अत्याधुनिक प्रविधिलाई अपराध नियन्त्रण र अनुसन्धानको प्रयोजनको लागि प्रयोग गर्न पर्याप्त स्रोत साधन व्यवस्था गर्ने र त्यसको प्रयोग गर्न सक्ने दक्ष जनशक्ति तयार गर्नेतर्फ सबैको प्रयास समेत हुनु जरूरी रहेको उल्लेख गर्नुभयो ।
नेपाल प्रहरी प्रधान कार्यालयमा संचालित एक दिवसीय ‘अपराध अनुसन्धान समीक्षा गोष्ठी’ को उद्घाटन सत्रलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले उक्त कुरा बताउनुभएको हो । उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले अपराध अनुसन्धान कार्यलाई थप व्यवसायिक तथा विशिष्टिकृत बनाउनु गृह प्रशासन कार्ययोजनाको एउटा प्रमुख क्रियाकलाप रहेको चर्चा गर्दै अपराध अनुसन्धान सम्बन्धी वर्तमान अवस्था, चुनौतीहरू तथा भावी कार्ययोजनाको बारेमा विश्लेषण र छलफल गर्न यस गोष्ठी महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो । नेपाल प्रहरीले यस प्रकारको गोष्ठी सातै प्रदेशमा आयोजना गरी हाल केन्द्रीयस्तरमा आयोजना गरेकोले गोष्ठीले देशभरी भएका गोष्ठीहरूबाट आएका विषयहरूको विश्लेषण गरी अपराध अनुसन्धानको भावी कार्यदिशा तय गर्ने तथा अपराध अनुसन्धानको विभिन्न आयामहरूमा विचार विमर्श गर्न, अन्तरदृष्टि आदानप्रदान गर्न र रणनीति निर्माण गर्न समेत उपयुक्त कार्यदिशा प्रदान गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
आन्तरिक शान्ति सुरक्षा कायम गर्न र अपराध अनुसन्धान गर्नको लागि नेपाल प्रहरी प्रमुख निकाय भएको र व्यवसायिक अपराध अनुसन्धानको र जनताको सुरक्षाको प्रत्याभुतिसँग प्रत्यक्ष सम्बन्ध रहेको बताउँदै उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले भन्नुभयो, ‘सही अनुसन्धानले अपराधीलाई कानूनको कठघरामा मात्र ल्याउँदैन, हुन सक्ने अपराधलाई रोक्ने र गलत प्रवृति भएका व्यक्तिहरूलाई निरुत्साहित गर्ने कार्य समेत गर्दछ । पीडितलाई न्यायको अनुभव गराउनुमा पनि अपराध अनुसन्धानको प्रमुख भुमिका रहेको हुन्छ ।’ अपराध अनुसन्धान एक बहुआयामिक प्रयास भएको र अनुसन्धान गर्ने निकायको एकल प्रयासले यो महत्वपूर्ण कार्यलाई सम्पन्न गर्न कठिन हुने उल्लेख गर्दै उहाँले यसमा अन्य सरकारी निकायहरू, विभिन्न सेवा प्रदायक संस्थाहरू र नागरिकहरू समेतको समन्वय, सहयोग र सहकार्यको आवश्यकता रहनेमा जोड दिनुभयो ।
सो अवसरमा महान्यायाधिवक्ता डा। दिनमणी पोखरेलले अपराध अनुसन्धानलाई त्रुटिरहित, विश्वसनियतता र प्रमाणको आधारमा गरिने अभियोजना गर्ने अवस्थालाई उच्चतम बिन्दुमा पुर्याउन सबै सरोकारवाला निकायहरू दृढ संकल्पित हुनुपर्ने बताउनुभयो । अपराध अनुसन्धानमा भएका त्रृटि र कमि कमजोरीलाई समयमा नै पहिचान गर्न समेत यस गोष्ठीबाट आउने निष्कर्षले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उहाँले उल्लेख गर्नुभयो ।




