काठमाडौं, १७ पुस ||
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद एवं पूर्वस्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई पदबाट हटाउनुपर्ने बताउनुभएको छ । हुँदै नभएको आधारभुत अस्पतालहरुको सामान खरिद प्रकरणमा करोडौंको कमिसनको चलखेल गरिरहेकाले मन्त्री बस्नेतलाई तत्काल पदबाट हटाउनुपर्ने उहाँको जिकिर थियो । मंगलवार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिको बैठकमा बोल्दै उहाँले अस्पतालहरुमा आवश्यक दरबन्दी थप्न नचाहने, तर हुँदै नभएका अस्पतालहरुमा पनि उपकरण खरिदको नाममा सेटिङमा कमिसन खान खोज्ने मन्त्री बस्नेतलाई स्पष्टिकरण लिएर पदबाट हटाउनका लागि प्रधानमन्त्रीलाई सुझाव दिने काम गर्न पनि संसदीय समितिसँग माग गर्नुभयो । सांसद कार्कीले २०७४ सालमा स्वास्थ्यमन्त्री हुँदा टेरामेक्स प्रविधि भित्र्याउने नाममा ३ अर्वसम्म भ्रष्टाचार गरेको अभियोगमा मुछिएका मन्त्री बस्नेतलाई किन सोही मन्त्री बनाएको भनि पटकपटक प्रश्न समेत गर्नुभयो । उहाँले कानुन विपरित कर्मचारीहरु हटाएर मन्त्री बस्नेतले वीर अस्पतालगायतका अस्पतालका विरामीहरुको उपचारमा समेत समस्या ल्याउने काम गरेको आरोप समेत लगाउनु भयो । सांसद कार्कीले वीर अस्पतालको बिरामीलाई निशुल्क दिइँदै आएको खाना र खाजा समेत कटौति गरेकाले मन्त्री बस्नेतले त्यो पदमा बसिरहन नमिल्ने बताउनुभयो ।