काठमाडौं,१३ पुस । अधिकार प्राप्तिका लागि संघीय सरकारलाई दबाब दिन हेटौंडामा संयुक्त मोर्चा कसेका स्थानीय र प्रदेश सरकारले आज साझा धारणा बनाएर गोष्ठि सकाउदै छन् । बागमती प्रदेशको राजधानीमा संघीयता कार्यान्वयनबारे स्थानीय तहका संगठन र प्रदेश सरकारबीच तहगत अधिकारको कार्यविस्तृतिकरण सम्बन्धी संगोष्ठी आज साझा धारणा बनाएर सकिने भएको हो ।
मुलुक संघीयतामा गएको ६ वर्ष बित्दा पनि संविधानमा उल्लेखित अधिकारहरू संघले कुण्ठित गरेको भन्दै दबाब दिन प्रदेश र स्थानीय सरकारले मोर्चा थालेका हुन् । त्यसअघि प्रदेशले विहीबार गाउँपालिका महासंघ, नगरपालिका महासंघ, बागमतीसहित अन्य प्रदेशका सचिवहरूसँग अधिकारबारे छलफल गरेका छन् । कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधिहरूले संघ सरकारको दोहोरो भूमिकाले अधिकार नपाएको गुनासो गरेका थिए । संघीयता कार्यान्वयनको पक्षमा भएका प्रयासहरू सफल रहे पनि केही अधिकार प्राप्ति नहुँदा विकासमै बाधा पुगेको तर्क उनीहरूको छ ।
कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले दोहोरो ऐन निर्माण हुँदा संघ, प्रदेश र स्थानीय सरकारबीचमा चुनौती देखा परेको थुप्रै उदाहरण रहेको बताउनुभयो । पछिल्लो समय विभिन्न स्थानमा बहस भएजस्तो संघीयता विकासविरोधी नभएको उहाँको दाबी थियो । यता, नगरपालिका संघका अध्यक्ष भीमप्रसाद ढुंगानाले साझा अधिकारको विषय टुंग्याएर अघि बढ्नुपर्ने बताउनुभयो ।
यस्तै, गाउँपालिका राष्ट्रिय महासंघकी अध्यक्ष लक्ष्मीदेवी पाण्डेले संघीय सरकार बलियो हुन स्थानीय र प्रदेश सरकार बलियो हुन आवश्यक रहेको बताउनुभयो । कार्यक्रम शुक्रबारसम्म चल्ने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बागमती प्रदेशले जनाएको छ । आज हुने अन्तरक्रियामा सातै प्रदेशका मुख्यमन्त्रीहरू सहभागी हुने बागमतीका मुख्यमन्त्री जम्मकट्टेलले जानकारी दिनुभयो ।




