काठमाडौं, २ कात्तिक । गत संविधान दिवसका अवसरमा राष्ट्रपतिबाट कैद माफी पाएका रुकुम पश्चिम सानीभेरी गाउँपालिका–९ का लोकेन्द्र भनिने लोकबहादुर विक हत्या आरोपमा पक्राउ परेका छन् ।
मंगलबार बिहान मृत अवस्थामा फेला परेकी मुसीकोट–७ साँखकी २७ वर्षीया भावना विकको हत्या आरोपमा लोकबहादुरलाई पक्राउ गरिएको हो । घाँटीमा धारिलो हतियार प्रयोग गरी हत्या गरेको अवस्थामा मुसीकोटस्थित एक होटलको कोठामा शव फेला परेको थियो ।
हत्यामा संलग्न रहेको पाइएपछि खलंगास्थित आफ्नै डेराबाट पक्राउ परेका लोकेन्द्रलाई प्रहरीले सार्वजनिक गरेको हो । उनले हत्या स्वीकार गरिसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार वीकले दुवै जना बीच प्रेम सम्बन्ध रहेको र महिलाले बिहे गर्न प्रस्ताव राखेपछि विवाद बढेर हत्याको अवस्थामा पुगेको बयान दिएका छन् ।
बहुविवाह मुद्दामा रुकुम पश्चिम जिल्ला अदालतको फैसला अनुसार ११ महिना कैद तोकिएका लोकेन्द्र ६ महिना कैद भुक्तान गरेर संविधान दिवसका अवसरमा सजाय माफी पाएका थिए । मृतक भावनाकी सासुआमा उजेली कामीले बुधबार कर्तव्य ज्यानमा किटानी जाहेरी दिएपछि जिल्ला अदालतबाट स्वीकृती लिई लोकेन्द्रलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।