काठमाडौं, २२ असोज ||
सत्तारुढ नेपाली काँग्रेस सांसद रामहरी खतिवडाले सरकारले विशेष विमानको व्यवस्था गरेर भएपनि इजरायलको जारी द्वन्द्वमा फसेका नेपालीहरुको उद्धार गर्नुपर्ने बताउनुभएको छ ।
सोमवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै सबै राजनीतिक दलहरुले पनि सो द्वन्द्वमा फसेकाहरुको उद्धारका लागि एकतावद्ध भएर पहलकदमी लिनुपर्ने बताउनु भयो । सांसद खतिवडाले स्वदेशमा फर्कन चाहने नेपालीहरुलाई पनि सरकारले सुरक्षित ढंगले स्वेदश फर्काउनुपर्ने बताउनु भयो । सांसद खतिवडाले मारिएकाहरुको शब नेपाल ल्याउने काममा पनि ढिलाई नगर्न सरकारसँग आग्रह गर्नुभयो ।
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद एवं पूर्वश्रममन्त्री रघुजी पन्तले इजरायलमा मारिएका नेपालीहरुको स्मृतिमा राष्ट्रिय शोकको घोषणा गर्न सरकारसँग माग गर्नुभयो । सोमवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीमाझ उहाँले इजरायलमा मारिएका परिवारलाई उचित क्षतिपूर्ति दिन र इजरायल सरकारसँग पनि त्यसका लागि कुटनीतिक पहल गर्न सरकारलाई सचेत गराउनु भयो । सांसद पन्तले स्वदेश फर्कन चाहने नेपालीहरुलाई तत्काल स्वदेश फर्काउन पनि सरकारले आवश्यक व्यवस्था मिलाउनुपर्ने बताउनु भयो । उहाँले घाइतेहरुको उपचारको अभाव हुन नदिन पनि सरकारलाई संवेदनशील बन्न आग्रह गर्नुभयो ।
सांसद पन्तले इजरायलबाट स्वदेश फर्कन चाहनेहरुलाई ल्याउनका लागि सरकारले तत्काल जहाज नै पठाउने व्यवस्था गर्नुपर्ने बताउनु भयो ।