काठमाडौं, २५ भदौ । महिला अधिकारकर्मीहरुले घरेलु श्रमीक महिलाहरुको अदृश्य श्रमलाई दृश्य बनाउनुपर्ने आवश्यकता औंल्याएका छन् । आईतवार काठमाडौंमा घरेलु श्रमीकको अधिकार, पहिचान र सुनिश्चितता विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै महिला अधिकारकर्मीहरुले घरेलु महिला श्रमीकको आवाज बुलन्द बनाउनुपर्ने बताए ।
उनीहरुले सबैभन्दा पहिला स्थानीय निकायमा घरेलु महिला श्रमीकहरुलाई सूचिकृत गर्नुपर्ने बताए । कार्यक्रममा बोल्दै तरङ्गिणी फाउण्डेशनकी मनोविमर्श कर्ता रुपा भट्टराईले घरेलु महिला श्रमीकको श्रम अदृश्य रहेको र त्यसलाई दृश्य बनाउने प्रयासमा आफूहरु लागेको बताउनु भयो । उहाँले घरेलु पनि श्रम नै भएकाले स्थानीय तहले घरेलु श्रमलाई सूचिकृत गर्नुपर्ने बताउनु भयो । उहाँले घरेलु श्रमीकलाई मान्यता दिने काम राष्ट्रिय स्तरबाट शुरु गरिनुपर्ने बताउनु भयो । उहाँले काठमाडौं महानगरभित्रका केही वडाका महिला घरेलु श्रमीकको तथ्यांकसमेत आफूहरुले जम्मा पारेको उल्लेख गर्दै स्थानीय निकायहरुले पनि यसमा सहयोग गर्ने हो भने तथ्यांक संकलन गर्न सहज हुने बताउनु भयो । उहाँले घरेलु श्रमीकलाई झर्किने, कामको सम्मान नगर्ने लगायतका समस्या रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘घरेलु महिला श्रमीकको आवाज बुलन्द बनाउने हाम्रो उद्देश्य हो । किनभने यो अदृश्य छ । घरेलु महिला श्रम, अदृश्य छ । यसलाई दृश्य बनाउन खोजिएको हो । किनभने घरेलु पनि श्रम नै हो भनेर कसैले मान्यता दिइरहेको छैन । त्यो पनि एउटा ठूलो कुरा हो यसलाई पनि महत्व दिनुपर्छ । श्रमीक महिलाहरुको काम पनि काम हो भनेर घरेलु श्रम काम नै होइन भन्ने खालको छ, त्यसलाई मान्यता दिनुपर्छ । घरेलु श्रमीकलाई मान्यता दिने काम राष्ट्रिय स्तरबाट नै शुरु हुनुपर्छ । सबैभन्दा पहिला स्थानीय निकायमा उहाँहरु सूचिकृत हुने भए अझै राम्रो हुन्थ्यो । बुढानिलकण्ठ नगरपालिकाले शुरु गरिसकेको छ । अरु पनि पालिकाले, वडा, नगरपाकिालले शुरु गर्ने हो भने घरेलु श्रमीक यति छ भन्ने तथ्यांक निकाले उहाँहरुको पहिचान बढ्दै जान्थ्यो । घरेलु कामदारलाई पारिश्रमीकको समस्या, बोल्ने र गर्ने व्यवहारमा फरक छ, सम्मान छैन । झर्किने खालको प्रवृत्ति छ ।’
कार्यक्रममा बोल्दै राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले घरेलु महिलाको अदृश्य श्रमलाई दृश्य बनाउन आवश्यक रहेको बताउनु भयो । उहाँले अदृश्य श्रमलाई दृश्य र पहिचानमा ल्याउन सम्भव रहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘अदृश्य घरेलु शक्तिलाई दृश्य बनाउनको लागि काम गर्नुपर्छ । सजिलो छ, यो गर्न सकिन्छ । महिला घरेलु श्रमीकले कति काम गरेका छन् भन्नेबारेमा काम गर्नुपर्ने जरुरी छ ।’
कार्यक्रममा सहभागी अन्य वक्ताहरुले श्रम बजारमा महिलाको सहभागिता बढाउने र सहभागिता भइसकेकाको पहिचान बढाउने खालको काममा जुट्नुपर्ने आवश्यकता रहेको बताए ।