थारू बस्तीमा माघी रौनक | ईमाउण्टेन समाचार

Our Network

पुष ८ २०८१, सोमबार

थारू बस्तीमा माघी रौनक

Sakhiya-Nach

गुलरिया, १ माघ । थारू समुदायको सबैभन्दा ठूलो पर्व माघीले थारू बस्तीमा रौनक छाएको छ । मुलुकका विभिन्न स्थान वा विदेशमा रहेका आफन्ती घर फर्किसकेका छन् । घरलाई विशेष प्रकारले लिपपोत गरी सजाइएको छ ।बर्दियाको बढैयाताल ५ मुक्त कमैया बस्तीका थारू युवायुवती मघौटा नाच्दै ।

नयाँ वर्षको सुरुवात र धार्मिक महत्त्वको चाड भएकाले थारू समुदाय बिहानै नुहाईधुवाई गरेर शिवको पूजा गरी सेतो चामलको टीका लगाउने गर्छन् । घरमा आएका चेलीबेटीका लागि नुन, चामल, दाल छुट्याएर दिने परम्परा रहेको बढैयाताल गाउँपालिका–५ प्रगतिनगरकी रामचेतना थारूले बताइन् । यस चाडमा गच्छेअनुसार थारूहरूले, ढिकरी लगायतका परिकार तथा सुंगुर, बंगुर, खसी, कुखुरा काटेर खाने गर्छन् । यसै दिन ठूलाबडा वा आफन्तसँग आशीर्वाद लिने गर्छन् । सन्तान नभएका व्यक्तिले शिवजीसँग सन्तानको वर माग्ने परम्परा रहेको स्थानीय रामबहादुर चौधरीले बताए ।

यतिखेर थारू समुदायका केटाकेटी, युवायुवती, महिला मघौटा नाच्दै रमाइरहेका छन् । उनीहरू आफ्नै पहिरनमा सजिएका छन् । थारू समुदायमा माघीकै दिन वर्षभरिका लागि बडघर, चौकीदार, स्वयंसेवक, गुरुवालगायत गाउँका अगुवा चयन गरिन्छ । यो पर्वले आपसी सद्भावको विकास गरेको स्थानीय अगुवा बताउँछन् ।

दासता सम्झाउने पर्व
दुर्गालाल केसी
दाङ– २०५७ सालसम्म थारू समुदायका अधिकांश परिवार जमिन्दारको घरमा बसिरहेका हुन्थे । हरेक माघ १ अर्थात् माघीका दिन जमिन्दारको घरमा कमैया र कम्लरी जाने र पुरानालाई नवीकरण गर्ने गरिन्थ्यो । माघी विगतमा दासताको प्रतीक थियो । सरकारले ०५७ साउन २ बाट कमैया र ०७० असार १३ गते को घोषणा गरेपछि भने कमैया र कम्लरी दासताबाट मुक्त भए । यद्यपि अझै पनि केही कम्लरीको उद्धार गर्न बाँकी छ ।

‘माघी विगतमा दासताको प्रतीक थियो, तर अहिले यो दिनलाई मुक्ति दिवसका रूपमा मनाउने अवस्था आएको छ,’ मुक्त कम्लरी विकास मञ्चकी सल्लाहकार उर्मिला चौधरी भन्छिन् । सरकारको घोषणायता दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरबाट १२ हजार ८ सय ६९ कम्लरी मुक्त भएका छन् । अझै पनि कैलालीमा ५९, बाँकेमा १७ र कञ्चनपुरमा ११ गरी ८७ कम्लरीको उद्धार गर्न बाँकी छ । अहिले मुक्त भएका २ हजार ९ सय ६३ जना नियमित विद्यालय गइरहेको मुक्त कम्लरी विकास मञ्चले जनाएको छ ।

दाङमा मुक्त कमैयाको पनि अहिलेसम्म समस्या समाधान हुन सकेको छैन । दुई पटक लगत लिई जग्गा वितरण भए पनि अझैसम्म केही कमैयाले आफूहरूको लगत छुट भएको बताइरहेका छन् । भूमि सुधार कार्यालयले ०५७ र ०५९ सालमा मुक्त कमैयाहरूको लगत लिएर रातो, नीलो, पहेँलो र सेतो परिचयपत्र वितरण गरेको थियो । घरबारविहीनलाई रातो, ऐलानी जग्गा ओगटेर बसेकालाई नीलो, दुई कट्ठासम्म जग्गा भएकालाई पहेँलो र दुई कट्ठाभन्दा बढी जग्गा भएकालाई सेतो परिचयपत्र वितरण गरिएको छ । जसमध्ये अहिलेसम्म रातो र नीलो परिचयपत्र पाएकालाई पाँच कट्ठा जग्गा वितरण गरिएको छ । हाल जिल्लाका लालमटियाको पाखापानी र मुक्तिनगर, घोराहीको बेलभार, गंगापरस्पुरको सालझन्डी, सतबरियाको कमानपुर र गढवाको चिलियामा मुक्त कमैयालाई जग्गा वितरण गरिएको छ ।

०५७ सालको लगतअनुसार १ हजार १ सय ६६ र ०५९ को छुट लगत गरी हाल जिल्लामा मुक्त कमैया १ हजार ४ सय २६ छन् । हालसम्म पुराना र छुट गरी ७ सय ५ जना पुनस्स्थापना भइसकेका र उनीहरूलाई १ सय २७ बिघा बढी जमिन वितरण भएको छ । भूमि सुधार कार्यालयका अनुसार जिल्लामा ०५७ सालको लगतअनुसार रातो परिचयपत्र पाएका २ सय १५, नीलो २ सय ३०, पहेँलो ३ सय ९७ र सेतो परिचयपत्र पाएका ३ सय २४ जना मुक्त कमैया छन् । यसैगरी ०५९ सालमा लिइएको थप लगतअनुसार रातो परिचयपत्र पाउने ८७ र नीलो पाउने १ सय ७३ छन् ।

रंगियो गाउँ
माघीलाई वर्षभरिको समीक्षा गर्दै आगामी दिनको योजना बनाउने दिनका रूपमा लिइन्छ । हरेक नयाँ कामको सुरुवात गर्ने समय भएकाले थारू समुदायका लागि माघी निकै महत्त्वपूर्ण पर्व रहेको महतवा संघका जिल्ला अध्यक्ष चन्द्रप्रसाद चौधरीले बताए । अहिले माघीको रमझमले थारू गाउँ रंगिएका छन् । युवायुवती परम्परागत वेशभूषा र गहगहनाका साथ नाचगानमा रमेका छन् । ‘माघीमा थारू संस्कृति झल्कने गीत गाइन्छ । यसको महत्त्व नयाँ पुस्तालाई बुझाउँदैछौं,’ चौधरीले भने, ‘युवायुवती पनि सिक्न चासो दिइरहेका छन् ।’ विगतमा गाउँघरको खानपिनमा मात्रै सीमित माघी अहिले अधिकार र पहिचानको पर्वका रूपमा मनाउने गरेको थारू बुद्धिजीवी कुलविर चौधरीले बताए ।आजको कान्पिुर पत्रिका यस्तो खवर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);