सुन प्रकरणः विस्तृत अनुसन्धान गर्न तोकियो पाँच अधिकृत | ईमाउण्टेन समाचार

Our Network

वैशाख २ २०८३, बिहीबार

सुन प्रकरणः विस्तृत अनुसन्धान गर्न तोकियो पाँच अधिकृत

काठमाडौं । यसैबीच राजस्व अनुसन्धान विभागले गत बुधबार बरामद गरेको अवैध सुनबारे विस्तृत अनुसन्धानका लागि पाँच जना अधिकृत तोकेको छ ।

विभागले उनीहरुको नाम भने सार्वजनिक गरेको छैन । यो प्रकरणमा हालसम्म पक्राउ परेका १० जनालाई अनुसन्धानका लागि म्याद थप गरेर बयान लिने क्रम चलिरहेको छ । ठूलो परिमाणमा भित्रिएको अवैध सुनको कारोबारमा जोडिएका अरु व्यक्तिको खोजीका लागि अनुसन्धान अधिकृतहरू तोकिएको राजस्व अनुसन्धान विभागले जनाएको छ ।

पक्राउ परेकाहरूले बयानमार्फत थप कसैको नाम पोल्ने र अनुसन्धान गर्दा थप प्रमाण फेला पार्न सकिन्छ कि भनेर अबको अनुसन्धान त्यतातर्फ केन्द्रित भएको विभागका सूचना अधिकारी नवराज अधिकारीले जानकारी दिनुभयो । पाँच सदस्यीय अनुसन्धान अधिकृतको समूहले उक्त अवैध सुनका विषयमा थप अध्ययन तथा अनुसन्धान गरी विस्तृत अध्ययन प्रतिवेदन तयार पारेर बुझाउने छ । ऐनले विभागका महानिर्देशक आफैँ रहन सक्ने वा महानिर्देशकको निर्देशनमा काम गर्ने गरी अनुसन्धान अधिकृत तोकिन सक्ने व्यवस्था गरेको छ ।

राजस्व चुहावटसँग सम्बन्धित प्रमाण सङ्कलन गर्दा कसुरमा मुछिएका व्यक्तिलाई पक्राउ गरी कारबाही चलाउने, गोदाम वा आवश्यकतानुसार अन्य स्थानको खानतलासी लिने, त्यस्तो गोदाम वा स्थानलाई सिल गर्ने, सम्बन्धित कागजपत्र तथा मालवस्तु आफ्नो कब्जामा लिनेलगायतका अधिकारसहित अनुसन्धान अधिकृतहरू तोकिएका हुन् । बुधबार बरामद भएको सुन हाल अनुसन्धानकै क्रममा रहेको र तौल तथा गुणस्तर परीक्षणसमेत हुन बाँकी रहेको नेपाल राष्ट्र बैंकअन्तर्गतको टक्सार महाशाखाले जनाएको छ ।

Leave a Reply