काठमाडौं, २ साउन । काठमाडौं महानगरपालिकाले सवारी साधन पार्किङ शुल्क पनि निर्धारण गरेको छ । महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले दुई पाङग्रे सवारी साधनको प्रतिघण्टा २५ र चार पाङग्रे सवारी साधनको प्रतिघण्टा ७५ रुपैयाँ पार्किङ शुल्क निर्धारण गरिएको जानकारी दिनु भएको हो ।
उहाँले सेवाग्राहीको गुनासो सुनुवाई गर्न र सवारी साधनको पार्किङ शुल्कमा एकरुपता ल्याउन शुल्क निर्धारण गरेको स्पष्ट पार्नुभयो । जस अनुसार काठमाडौं महानगरपालिका भित्र २ पाङग्रे सवारी साधनले आधा घण्टाको पार्किङ शुल्क भने १५ रुपैयाँ मात्रै तिर्नुपर्ने हुन्छ । एक घण्टाको २५ रुपैयाँ र एक घण्टा भन्दा बढि थप हुँदै गयो भने हरेक १५ मिनेटमा ५/५ रुपैयाँ शुल्क थप गर्ने व्यवस्था गरिएको छ । उपमेयर डंगोलका अनुसार ४ पाङग्रे सवारी साधनले भने आधा घण्टाका लागि ४० रुपैयाँ पार्किङ शुल्क तिर्नुपर्ने हुन्छ । एक घण्टाका लागि ७५ रुपैयाँ र त्यो भन्दा बढि समय थप भए हरेक १५ मिनेटमा १५ रुपैयाँ थप हुँदै जाने छ ।
उपमेयर डंगोलले न्यायिक समितिमा भाडा तिर्न नसकेर सहकारीलगायतका संस्थाहरु भागेको उजुरी पनि आउने गरेको बताउनु भयो । पछिल्ला दिनहरुमा आर्थिक मन्दीका कारण १० वटा उजरी मध्ये ८ वटा भने कोठा र सटर बन्द गराई भाडा दिलाई पाउँ भन्ने उजुरी आउने गरेको पनि महानगरले जनाएको छ । त्यसैगरी महानगरपालिकाले आफ्नो मातहत भित्रका सामूदायिक विद्यालयका शिक्षकहरुलाई मासिक रुपमै तलव उपलब्ध गराउने व्यवस्था पनि गरेको छ ।