प्रतिघन्टा १५ देखि १०० रुपैयाँसम्म शुल्क
अप्सरा लामीछाने
काठमाडौं, १४ असार । काठमाडौं महानगरपालिकाले महानगरभित्र पार्किङ शुल्क निर्धारण गरेको छ । महानगरभित्र तीनवटा क्षेत्र निर्धारण गरी शुल्क तोकिएको हो । तर सर्वसाधारणले भने महानगरको यो निर्णयप्रति असन्तुष्टि जनाएका छन् ।
महानगरले आइतबार नगरसभामा प्रस्तुत गरेको आर्थिक विधेयकमा उक्त व्यवस्था गरेको छ । महानगरले दुई पांग्रे, चार पांग्रे र त्यो भन्दा माथिका साधनको लागि फरकफरक शुल्क तोकेको छ । उसले एक घण्टाको दरले लाग्ने शुल्क तोकेको हो । कुनै पनि सडकको २५ प्रतिशत भन्दा बढी भाग नओगट्नेगरी पार्किङ क्षेत्र निर्धारण गरी निजी क्षेत्र वा आफैले त्यस्तो व्यवस्था गर्ने महानगरको प्रस्ताव छ ।
निजी जग्गा र घरभित्र पनि पार्किङ सेवा संचालन गर्न सकिने छ तर त्यसको लागि महानगरको अनुमति लिनुपर्ने छ । महानगरको आर्थिक ऐन २०७५/७६ मा सवारी साधन पार्किङ गरेबापत प्रतिघन्टा १५ देखि १०० रुपैयाँसम्म शुल्क उठाउने उल्लेख छ । महानगरले अस्तब्यस्त पार्किङलाई न्युनीकरण गर्न यस्तो कदम चालेको बताएको छ ।
गत वर्ष पनि महानगरले पार्किङ शुल्क तोकेको थियो । तर, चौतर्फी विवाद भएपछि कार्यान्वयनमा ल्याउन सकेको थिएन । अहिले पनि महानगरको यो निर्णयप्रति सर्वसाधरणले विरोध जनाएका छन् । सरकारले पार्किङ स्थल निर्माण गरी कर हैन निसुल्क पार्किङको ब्यबस्था गर्नुपर्ने उनीहरुको भनाई छ ।




