काठमाडौं, ८ असार । वेस्टइन्डिजका कप्तान शाइ होपले नेपाली टोलीको प्रशंसा गरेका छन् । आइसीसी विश्वकप छनोट अन्तर्गत समूह चरणको खेलमा नेपाललाई हराएपछि वेस्टइन्डिजका कप्तान शाइ होपले नेपाली टोलीको प्रशंसा गरेका हुन् ।
पहिलो पटक नेपालको सामना गरेको भन्दै होपले नेपालले राम्रो क्रिकेट खेलेको भन्दै प्रशंसा गरेका हुन् । अलिकति राम्रो खेलेको भए नेपाल विजयी हुने संभावना रहेको भन्दै होपले नेपाली ब्याटरलाई दबाबमा राख्न सर्ट बल प्रयोग गर्ने योजना बुनेको पनि स्वीकारे सुरुवातमा विकेट चाहिने अवस्थामा विशेषगरी ओपनरलाई दबाबमा राख्न सर्ट बल प्रयोग गरेको यसमा सफल भएको होपको प्रतिक्रिया छ ।
प्लेयर अफ द म्याच होपले नेपालविरुद्ध कमजोर सुरुवात गरेपनि आफ्नो र निकलस पुरनको दोहरो साझेदारीले जित हातपार्न सफ भएको बताए । होपले आउने खेलमा आफ्नो टोलीको फिल्डीङमा पनि सुधार गर्नुपर्ने बताए । नेपालविरुद्ध कमजोर फिल्डीङले टोलीको कमजोरी थाहा भएको र त्यसलाई सुधार गर्नु आवश्यक रहेको उनले बताए ।
जिम्बावेमा भइरहेको आइसिसी विश्वकप क्रिकेट छनोटमा बिहीबार २ पटकको विश्वविजेता वेष्ट इन्डिजसँग नेपाल १०१ रनले पराजित भएको हो । ३४० रनको विशाल योगफल पच्छ्याएको नेपालले ४९ ओभर ४ बलमा अलआउट हुँदै २३८ रनमात्र बनाएपछि १०१ रनले पराजित भएको हो । नेपालकै समूह एमा रहेको अमेरिका लगातार तीन हारसँगै प्रतियोगिताबाट बाहिरिएको छ । नेपाल सुपर सिक्समा पुग्न शनिबार नेदरल्यान्ड्सलाई हराउनु पर्ने हुन्छ । नेपालले हराए मात्रै हुँदैन नेदरल्यान्ड्सले अन्तिम खेलमा वेस्ट इन्डिजसँग पनि हार्नुपर्ने हुन्छ । नेपाल नेदरल्यान्ड्ससँग पराजित भएमा समूह चरणबाटै बाहिरिनेछ ।