काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उपयोगी नभएकाले आफ्नो पार्टीले पनि सत्तरी वर्षको उमेरहद हटाउने निर्णय गर्नु परेको बताउनु भएको छ ।
७० वर्ष माथिकाले काम गर्न सक्ने अवस्थामा पनि राजनीति छोडनुपर्ने अप्ठ्यारो अवस्था आएको, कतिपय अन्य पार्टीबाट आएका नेताहरुलाई पनि जिम्मेवारी दिनुपर्ने भएकाले त्यो उमेरहद हटाउने निर्णय गर्नु परेको ओलीको स्पष्टिकरण थियो । अखिल नेपाल महिला संघ, बागमती प्रदेश कमिटीले शनिबार च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले चीनलगायतका दुनियाँका सबै पार्टीहरुले परित्याग गरिसकेको ७० वर्षे उमेरहद हटाउने निर्णय एमालेले गर्दा त्यसको विरोध गर्न आवश्यक नभएको बताउनु भयो ।
उहाँले केहीले पार्टीको सो निर्णयको विरोध गरेर अराजनीतिक कुरा गरेको आरोप समेत लगाउनु भयो । अध्यक्ष ओलीले पार्टीका युवाहरुलाई ७० वर्ष कटेकाहरुसँग प्रतिस्पर्धा गरेर महाधिवेशनमा अध्यक्ष, उपाध्यक्ष, महासचिव बन्न कसले रोकेको छ ? भनि प्रश्न समेत गर्नु भयो । काम गर्न सक्छन भने ७० वर्ष कटेकाहरुलाई पार्टी भित्र प्रतिबन्ध लगाउनुपर्ने कुनै कारण नरहेको ओलीको तर्क थियो । उहाँले काम गर्न सक्नेलाई उमेरहदको नाममा जिम्मेवारीबाट रोक्नुपर्ने कुनै कारण नरहेको पनि पटकपटक दोहो¥याउनु भयो ।
ओलीले भन्नु भयो, ‘अव थुप्रै साथीहरु यो ७० वर्ष छ भनेपछि हच्किएका हुन्छन । कामै गर्न नपाउने ७० वर्ष पुगेपछि । राजनीति नै छोडनुपर्ने स्थिति, कमिटी नै छोडनुपर्ने स्थितिभएपछि यो ७० वर्ष अप्ठ्यारो भयो । कतिपय साथीहरुलाई आउन, उहाँहरुलाई एकजष्ट गर्न, उहाँहरुलाई जिम्मेवारी दिन पनि हामीले ७० वर्ष हटाई दिन प¥यो । ७० वर्ष कहिँपनि छैन दुनियाँमा । अमेरिकामा छ । ८० वर्षको मान्छेले राष्ट्रपति चलाई राखेको छ । अनि, शेरबहादुर देउवाजी ७७, ७८ कति वर्ष हो ? चलाई राख्नु भएको छ । कतै पनि छैन ७० । हाम्रोमा हामीले राखेका थियौं । हामीलाई पनि उपयुक्त भएन । यसले प्रगति गर्न अप्ठ्यारो पा¥यो । त्यसकारण हामीले हटाउने भन्यौं । यसमा फेरी हाम्रा साथीहरु किन यो ७० हटाउने कुरा भएन के ? ए बाबा, चुनाव लडनुस्न आउँदो महाधिवेशनमा । हुनुस्न अध्यक्ष कसलाई मन लाग्छ ।’
ओलीले २०८४ सालको निर्वाचनमा एमालेले एक्लै बहुमत ल्याउने मिसन लिएको उल्लेख गर्दै त्यसलाई सफल बनाउने गरी वडावडामा गएर काम गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनु भयो । सिद्धिसकेका तत्वहरुले समाजवादी मोर्चा बनाउने प्रयास गरेकाले त्यसमा आत्तिनुपर्ने कुनै कारण नरहेको पनि उहाँले बताउनु भयो । ओलीले भन्नु भयो, ‘मिसन २०८४ । हामीलाई चाहिएको हरेक वडामा एमालेको बहुमत । माथि यसै बहुमत हुन्छ । जिल्लामा बहुमत, प्रदेशमा बहुमत भन्नै पर्दैन । वडामा बहुमत भयो भने सबैतिर बहुमत यसै हुन्छ । आफ्नो बडामा बहुमत बनाउन त्यत्ति त सकिन्छ होला नि । अन्तको कुरा छोडिदिऊ । आफू बसेको बडामा बहुमत बनाऔं । एक्लै बहुमत बनाऊ । सिद्धिएका तत्वहरु मिलेर मोर्चा बनाउँछन रे । अनि के हुन्छ त्यो मोर्चाले ? त्यसकारण यस्ता कुनै पनि कुराहरुसँग हामीले वास्ता गरिरहनुपर्ने होइन । हामी दृढताका साथ अगाडि बढछौं । यो कुरा ख्याल राख्नुस–हामो पार्टीको विरुद्ध पार्टीलाई लाञ्छना लगाउने, पार्टीको अपमान गर्ने, पार्टीले गरेका कामहरु बिसाई दिने, केही गरेकै छैन भन्ने अनि अनेक प्रकारका आरोप, लाञ्छना, पार्टीलाई जनतामा अलग गराउने, पार्टी प्रति जनताको मनमा घृणा फैलियोस् । त्यस प्रकारका प्रयासहरु गलत तत्वहरु, जो यो देशमा प्रगति नहोस् । यो देशमा राष्ट्रिय एकता बलियो नहोस् । यस देशका जनताको एकता बलियो नहोस् । र, यो देशका विकास नहोस् भन्ने चाहन्छन । त्यस्ता तत्वहरु एमाले विरुद्ध एकजुट भएर लागेका छन । यो कुराबाट तर्सिनुपर्ने छैन । अरु एकातिर, एमाले एकातिर । एमाले एक्लै ५० प्रतिशतभन्दामाथि । भईगो नि । त्यसकारण हामी एक्लै ५० प्रतिशत भन्दा माथि हुने गरी अगाडि बढनु पर्छ ।’
ओली देशविरोधी शक्तिहरु एमालेको विरुद्धमा लागि परेको आरोप समेत लगाउनु भयो ।




