२०७९ मा तीन तहको चुनावले कोरेको अस्थिरताको रेखा (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

भदौ २९ २०८१, शनिबार

बटुकराज गिरी । २०७९ सालमा देशको राजनीतिमा महत्वपूर्ण घटनाहरु भए । स्थानीय, संघ र प्रदेश तीनवटै तहको चुनाव भयो । संघ र प्रदेशहरुमा सरकार बने । तर, राजनीतिमा दुरगामी असरका घटनाहरु भएको यो वर्षले समस्याहरु धेरै बल्झायो । राजनीतिक अस्थिरताको आँकलनले अर्थतन्त्रमा नकारात्मक असरहरु देखापरे । जसको असर २०८० मा समेत पर्ने चिन्ता छाएको छ ।

२०७९ साल निर्वाचनको वर्ष बन्यो । प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका निर्वाचन सम्पन्न भए । १४ वर्षपछि त्रिभुवन विश्वविद्यालय अन्र्तगतका अधिकांश क्याम्पसहरुमा चुनाव भए । निर्वाचन परिणामले नेपाली समाज र राजनीतिमा विगतमा भन्दा फरक तरंग ल्याइदियो  । प्रतिनिधिसभा र प्रदेशसभामा नयाँ राजनीतिक दलको उदय भयो भने स्थानीय तहको चुनावमा स्वतन्त्रहरुको उदयले पुराना दल दबाबमा परे । काठमाडौं, धरान र धनगढीसहितका पालिकाहरूमा स्वतन्त्र उम्मेदवारको अप्रत्यासित जित र प्रतिनिधिसभा निर्वाचनमा नयाँ दलहरूले पाएको जनमतले मूलधारका दलहरूलाई नराम्रै झड्का दियो । स्वतन्त्र उम्मेदवारहरू बालेन्द्र शाह, हर्क साम्पाङ र गोपाल हमालहरुलाई स्थानीय तहका प्रमुख पदमा निर्वाचित गरिदिए । उनीहरु जस्तै गरी पूर्वसञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी, मधेशमा सीके राउत नेतृत्वको जनमत पार्टी र पश्चिम तराईमा थारू आन्दोलनको जगमा उदाएको नागरिक उन्मुक्ति पार्टीले उत्साहजनक परिणाम हात पार्न सफल भए । तीन तहकै चुनावमा सत्तामा रहेका दलहरू कांग्रेस, माओवादी र एकीकृत समाजवादीसहित पाँच दलले गठबन्धन बनाए । तैपनि स्पष्ट बहुमत जुटाउन नसक्दा सत्ता समिकरण दुई महिनामै बदलियो । कांग्रेस–माओवादीसहित दस दलको गठबन्धनबाट कांग्रेसका पूर्ववरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित हुनुभयो । उपराष्ट्रपतिमा जसपाका पूर्व नेता रामसहाय प्रसाद यादव चुनिनुभयो । केन्द्रदेखि प्रदेशसम्मका सरकारहरु फेरबदल भए । सत्ताकै लागि दलहरुले मरिहत्ते गरेका कारण मुलुकले राजनीतिक स्थायित्व पाउनेमा आशंकाहरु छन् ।

चुनावपछि नयाँ जनमतबाट अनुमोदित नेतृत्वबाट नयाँ आशा जाग्नुपर्ने भए पनि आमचुनावपछिको पहिला चार महिनामा दलहरू विगतमा जस्तै सत्ताकै खेलमा अल्झिए । दलहरू सत्तामा सामेल हुने र बाहिरिने क्रम रह्यो । रास्वपा, राप्रपा, जनमत पार्टीहरु सरकारमा सामेल भएको महिना दिन नबित्दै सरकार छोड्नुपर्ने अवस्थाले पुरानै दलहरु झैं निरन्तरता पायो । विगतमा दोस्रो दल बनेको कांग्रेस यसपटक कम्युनिष्टहरुको फुटको लाभ उठाउँदै संसदको पहिलो दल बन्यो भने पहिलो दल एमाले दोस्रोमा पुग्यो । यदपि एमाले अध्यक्ष ओलीबाट भएको संसद् विघटन र पार्टी विभाजनका बाबजुद एमालेले लोकप्रिय मत भने गुमाएन ।

२०७९ साल चुनावी हिसाबमा जति सफल देखिन्छ, आर्थिक हिसाबमा भने त्यति सफल देखिएन । अर्थतन्त्र सफल नहुनुमा बढ्दो आयात, रोजगारीको अभाव, उत्पादनशील क्षेत्रमा शून्य बराबर लगानी आदि आन्तरिक कारण देखिन्छन् । यसका साथै कोभिड–१९ पछि विश्वमा देखिएको आर्थिक मन्दी, रुस–युक्रेनको लडाइँ, अमेरिका र चीनबीचको आर्थिक रस्साकस्सी आदिको बाह्य प्रभाव पनि देखिन्छ । बढ्दो महँगी, तरलता अभाव, ब्याजदरमा भएको वृद्धिले व्यापार व्यवसाय निरन्तर घाटामा जाँदा वर्ष २०७९ आर्थिक हिसाबमा सफल रहेन । २०७९ बाट पाठ सिक्दै २०८० साललाई सबै हिसाबले उत्कृष्ट बनाउन राजनीतिक नेतृत्व, आर्थिक क्षेत्रका योजनाकार देखि समाजका जिम्मेवार नागरिक सबै लाग्नुपर्ने देखिन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);