काठमाडौं, ९ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ग्याल्बो ल्होसारले आन्तरिक राष्ट्रियता सुदृढ गर्दै आपसी सद्भाव, सहकार्य र एकतालाई थप मजबूत बनाउने बताउनु भएको छ ।
शेर्पा समुदायले मनाउने ऐतिहासिक दिन ग्याल्बो ल्होसारको अवसरमा शुभकामना सन्देश जारी गर्दै दाहालले देशभित्रका सबै भाषा, कला, संस्कृति, सभ्यता र ऐतिहासिकता हाम्रा साझा राष्ट्रिय सम्पत्ति भएको धारणा राख्नुुभएको हो ।
“नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषताले भरिपूर्ण विश्वकै एक स्वाधीन र सुन्दर मुलुक हो । देशभित्रका सबै भाषा, कला, संस्कृति, सभ्यता र ऐतिहासिकता हाम्रा साझा राष्ट्रिय सम्पत्ति हुन् । तिनीहरूको रक्षा र प्रवद्र्धन गर्नु हामी सबैको साझा जिम्मेवारीसमेत हो ।”–सन्देशमा उल्लेख छ ।
ग्याल्बो ल्होसार नेपालका विभिन्न भू–भागमा बसोबास गर्ने शेर्पा समुदायको नयाँ वर्ष हो, ऐतिहासिक र प्रेरणादायी दिन हो । विविधतामा एकतासहित सबै वर्ग, जाति, क्षेत्र, लिंग र समुदायको पहिचान र अधिकारलाई संरक्षण र प्रवद्र्धन गरेर मात्र राष्ट्रिय एकता सुदृढ गर्न सकिने प्रधानमन्त्री दाहालले बताउनु भएको छ ।
उहाँले सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यसहित अगाडि बढेको वर्तमान सरकार आन्तरिक एकता सुदृढ गर्दै राष्ट्रिय स्वाधीनता र स्वाभिमानको रक्षा गर्न प्रतिवद्ध रहेको स्पष्ट पार्नुभएको छ ।




