काठमाडौं, ४ फागुन । बालाजुको माछापोखरीमा यातायात मजदुर र प्रहरीबीच झडप भएको घटनाबारे छानबिन गर्न समिति गठन गरिएको छ । डिआईजी मसाउद आलम खाँको नेतृत्वमा छानबिन समिति गठन भएको हो । छानबिन समितिमा उपत्यका प्रहरी कार्यालयका एसएसपी हिमालय श्रेष्ठ र जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सिताराम रिजाललगायत ५ जना रहेका छन् । समितिलाई जति सक्दो चाँडो छानबिन गरेर प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ ।
ट्राफिक नियमविरुद्ध सोमवार यातायात मजदुरले नयाँ बषपार्क क्षेत्रको सडकमा सवारी साधन तेस्र्याएर सडक अवरुद्ध गरेका थिए । बीच सडकमै सवारी साधन राखेर मजदुरहरुले अवरोध सिर्जना गरेपछि सो क्षेत्रको यातायात आवागमन अवरुद्ध भएको थियो ।
पाँच पटकसम्म चिट काटेपछि ६ महिनासम्म सवारी चलाउन नपाउने नियमबिरुद्ध आफूहरुले सडक अवरुद्ध गरेका प्रदर्शनकारीले प्रहरीको भ्यानसमेत सडकमै जलाएका थिए । सोही दिन एक समुहले माछापोखरी र बसपार्कका विभिन्न मोवाइल पसल समेत तोडेर करोडौका मोवाइल चोरी गरेका थिए ।




