काठमाडौं, २९ माघ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। अहिले हाल प्रदेश नं. १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।
जल तथा मौसम विभाग महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। त्यस्तै, प्रदेश नं. १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा अपरान्हतिर हावाहुरी लाग्ने सम्भावना रहेको छ।
आज राति प्रदेश नं. १ को पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं. १ को उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा अपरान्हतिर हावाहुरी समेत लाग्ने सम्भावना रहेको हुनाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।