काठमाडौं, २२ कात्तिक । निर्वाचन आयोगले एमालेका तर्फबाट डोटी जिल्लाको प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रेमबहादुर आलेमगरमाथि २४ घण्टे स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ ।
निर्वाचन आचारसंहिता विपरित मतदातालाई रकम बाँडेको भन्ने सूचनाका आधारमा आलेमगरलाई स्पष्टीकरण पेश गर्न भनिएको आयोगका सहायक प्रवक्ता मुकुन्द शर्माले जानकारी दिए ।
निर्वाचन आयोगले उनलाई आज एक पत्र पठाएको छ । जसमा लेखिएको छ, ‘चुनावी दौडमा रहेका निवर्तमान एमाले सांसदले पैसा बाँडेको भन्ने एक अनलाइनमा प्रकाशित समाचारप्रति आयोगको ध्यानाकर्षण भएको र प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका सन्दर्भमा निर्वाचन आचारसंहिता लागू भइरहेको अवस्थामा तपाइँ प्रतिनिधिसभा सदस्यको उम्मेदवारले मतदातालाई रकम बाँडेको विषय निर्वाचन आचारसंहिता विपरित देखिएको हुँदा उक्त क्रियाकलापमा संलग्न भए वापत निर्वाचन आयोग ऐनअनुसार तपाइँको उम्मेदवारी रद्द किन गर्न नपर्ने हो ? पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्नुहोला ।’




