इलाम । इलामको माई नगरपालिकाको न्यायिक समितिको इजलासबाट अघिल्लो वर्ष जम्मा एउटा विवाद निरूपण भयो । गाउँपालिकाले उपभोक्ता समितिमार्फत सम्पन्न गरेको योजनामा काम गर्ने मजदुरले पैसा नपाएपछि न्यायिक समितिमा मुद्दा परेको थियो ।
पटक पटकको मेलमिलाप असफल भएपछि न्यायिक समितिले इजलासबाट विवाद निरूपण गरेको हो । न्यायिक समितिको फैसला उपर जिल्ला अदालतमा पुनरावेदन परेको थियो । जिल्ला अदालतले न्यायिक समितिको निर्णय नै सदर गरेको माई नगरपालिकाकी न्यायिक समिति संयोजक विष्णुमाया रिमालले जानकारी दिइन् ।
गत आर्थिक वर्ष २०७७/०७८ मा माई नगरपालिकाको न्यायिक समितिमा ३८ वटा मुद्दा दर्ता भए । एउटाबाहेक अरू विवाद निरूपणका लागि न्यायिक समितिको इजलास बसेन । पालिकामा दर्ता भएका उजुरीमध्ये १८ वटा विवाद मेलमिलाप केन्द्रमा मिलाइयो । नौवटा मुद्दा न्यायिक समितिमा मिलापत्र भयो भने १० वटा प्रक्रियामा छन् ।
वडा तहमा रहेको मेलमिलाप केन्द्रमा सुल्झिन नसकेका विवाद मात्र न्यायिक समितिमा आउने गरेका छन् । तीमध्ये इजलास राखेरै फैसला गर्नुपर्ने विवाद कम हुने गरेको न्यायिक समितिकी संयोजक रिमालले बताइन् । ‘सुरुमा न्यायिक समितिमा निकै धेरै उजुरी दर्ता हुन्यो, अहिले त्यो घटेको छ’, उपप्रमुख रिमालले भनिन्, ‘धेरै विवाद वडामा रहेको मेलमिलाप केन्द्रमा नै मिल्छ, त्यहाँ नभएको न्यायिक समितिको छलफलमा टुंगिन्छ, इजलास नै राख्नुपर्ने विवाद ज्यादै कम हुन्छ ।’ न्यायिक समितिले इजलास नै राख्नुपर्ने प्रकृतिका विवाद सोझै अदालत पुग्ने उनको भनाइ छ ।
न्यायिक समितिको इजलासमा अदालतमा जस्तो कानुन व्यवसायी अनिवार्य हुँदैनन् । विवादित पक्षले पालैपालो कुरा राख्छन् । इजलासमा आफ्नो कुरा भन्न नसक्नेलाई भने छुट्टै राखेर पनि कुरा सुन्ने गरेको उपप्रमुख उनले बताइन् ।
गत आर्थिक वर्षमा चुलाचुली गाउँपालिकाले पाँचवटा मुद्दा न्यायिक समितिको इजलासबाट निरूपण गरेको छ । इजलासबाट टुंगो लगाइएको विवादमा धेरैजसो जग्गाको साँध-सिमानाको विवाद रहेको न्यायिक समितिकी संयोजक निर्मला दाहालले जानकारी दिइन् । न्यायिक प्रक्रिया पूरा गरेरै इजलासबाट निर्णय लिने गरेको उनको भनाइ छ । ‘एउटै विवादको निरूपण गर्न छ पटकसम्म समितिको इजलास बसेका छौँ, कुनैकुनै एक-दुई पटक इजलास बस्दा निर्णय हुन्छ’, दाहालले भनिन् ।
चुलाचुलीको न्यायिक समितिमा एक वर्षको अवधिमा ३४ वटा उजुरी दर्ता भएका थिए । तीमध्ये एउटा मात्र विवाद मेलमिलाप केन्द्रमा टुंगिएको छ । पाँचवटा विवाद न्यायिक समितिमा मिलापत्र भएका छन् । पाँचवटा प्रक्रियामा रहेका, तीनवटा विवाद जिल्ला अदालत पठाइएको गाउँपालिकाले जनाएको छ ।
इलामको सूर्योदय नगरपालिमा गत आर्थिक वर्षमा न्यायिक समितिको इजलास नै बसेन । गत आवमा नगरपालिकाको न्यायिक समितिमा ४५ वटा उजुरी दर्ता भएका थिए । तीमध्ये १७ वटा विवाद मेलमिलाप केन्द्रमा नै निरूपण भए । १२ वटा कार्यान्वयनको चरणमा रहेका छन् भने ११ वटा चालू आवमा जिम्मेवारी सरेको छ ।
माईजोगमाई, माङसेबुङ, फाफोकथुम गाउँपालिकामा वर्षभरि एउटा विवाद पनि इजलाससम्म पुगेन । देउमाई नगरपालिकामा अंशसम्बन्धी दुईवटा विवाद इजलासबाट निर्णय गरिएको छ । त्यस्तै, इलाम नगरपालिकामा एउटा, रोङ गाउँपालिकामा एउटा, सन्दकपुर गाउँपालिकामा दुईवटा विवाद न्यायिक समितिको इजलासबाट टुंगो लगाइएको छ ।
न्यायिक समितिमा पर्ने विवाद समाधानका लागि मेलमिलाप केन्द्र तोकिएको छ । मेलमिलाप केन्द्रमा आउने विवाद मिलाउनका लागि मेलमिलापकर्ताको सूचीकरण गरिएको छ । ती मेलमिलापकर्ताले विवाद समाधानका लागि सघाउँछन् ।
मेलमिलाप केन्द्रमा भएको विवाद न्यायिक समितिले पनि मिलाउँछ । न्यायिक समितिमा पनि मिलापत्र हुन नसके इजलासबाट निर्णय गर्नुपर्छ । न्यायिक समितिले गरेको निर्णयमाथि जिल्ला अदालतमा पुनरावेदन लाग्ने कानुनी व्यवस्था छ ।