काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष पशुपति सम्शेर जबराले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको साँठगाँठले संविधानको धज्जी उडाएको भन्दै विश्वमा सफल राजा सहितको प्रजातन्त्रको मोडल अनुसरण गरेर विगतको गल्ती सच्याउनु पर्ने बताएका छन् ।
‘राष्ट्रपति र प्रधानमन्त्रीको साँठगाँठले संविधानको पूर्ण अवमूल्यन भएको छ । दलभन्दा माथि रहने राष्ट्रप्रमुख, निष्पक्ष अभिभावकको रुपमा शाहवंशीय राजसंस्थाको अपरिहार्यता पुनःपुष्टी गरेको छ,’ राप्रपा अध्यक्ष राणाले ट्वीटमा लेखेका छन् ।
राजनीतिक कोर्स करेक्सन गर्नु पर्ने दृष्टान्त प्रस्तुत गर्दै राणाले भने, ‘विश्वका सफल प्रजातान्त्रिक अभ्यास अनुकूल राजा सहितको प्रजातन्त्र अनुसरण गरेर गल्ती सच्याउनुको विकल्प छैन ।’
निर्वाचन प्रजातान्त्रिक अभ्यास भए पनि कुर्सी जोगाउन जनताको ज्यान जोखिममा पार्नु अमानवीयताको पराकाष्ठा भएको राणाको भनाई छ ।
ट्वीट गर्दै राणाले भने, ‘प्रजातन्त्रमा चुनाव अपरिहार्य अभ्यास हो । यद्यपि संविधानको धज्जी उडाएर, चुनावको नाममा महामारी र आर्थिक संकटबीच जनताको ज्यान चरम जोखिममा धकेल्नु बहुलठ्ठिपन हो ।’
उनले भने, ‘कसैको कुर्सी जोगाउन नेपाली जनताको रोग, भोक, शोकमा आँखा चिम्लिनु अमानवीयताको पराकाष्ठा हो ।’