काठमाडौं, २४ चैत । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले तीन जना नेतालाई कारबाही गरेको छ ।
निवर्तमान सचिवहरु सुदेश पराजुली, वसिम आलम र आरती लामालाई संगठनको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिएको अध्यक्ष ऐन महरले जानकारी दिए ।
अनेरास्ववियुले मंगलबार विज्ञप्ति निकालेर सो जानकारी दिएको हो । संगठनको हितविपरीत गतिविधि गरेपछि तीन जनालाई निष्कासन गरिएको विज्ञप्तिमा उल्लेख छ ।
‘उहाँहरुसँग दुई पटकसम्म स्पष्टीकरण माग्दा पनि अटेर गरेपछि कारबाही गरिएको हो’ – विज्ञप्तिमा लेखिएको छ । माधव गुटमा लागेर संगठनको हितविपरीत काम गरेको तीन नेतामाथि आरोप लगाइएको छ ।
माधव नेपाल गुटको अनेरास्ववियुको भेलाले पराजुलीलाई अध्यक्ष, आलमलाई सह–अध्यक्ष र लामालाई महासचिव बनाएको थियो ।
आइ.एन.ए