काठमाडौँ, २५ असोज । उत्तर कोरियाले अमेरिकी लडाकु विमान खसाल्ने चेतावनी दिइरहेका बेला अमेरिकाले आफ्नो बम बर्षक विमानलाई जापानी समुद्री क्षेत्रमा पठाएको छ।
ती विमान उत्तर कोरियाली सीमा क्षेत्र नजिकै पुगिसकेका छन्। अमेरिकी बम बर्षक विमान उडाउनु अघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरक्षा सल्लाहकारसँग छलफल गरेका थिए। उत्तर कोरियाको धम्कीको जवाफ कसरी दिने भन्नेबारे उनले छलफल गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।
अमेरिकी वम वर्षक विमानसँगै दक्षिण कोरियाली र जापानी वायु सेनाका विमान पनि संयुक्त अभ्यासमा सहभागी भएको विभिन्न संचारमाध्यमले जनाएका छन्। यस विषयमा उत्तर कोरियाले भने कुनै प्रतिक्रिया दिएको छैन।