एजेन्सी, १८ असोज । कोरोना संक्रमित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उपचारमा चिकित्सकहरुले प्रयोगात्मक एन्टीबडी औषधी प्रयोग गरिरहेका छन् । अमेरिकाको मेरील्याण्डस्थित वाल्टर रिड अस्पतालमा ट्रम्पको उपचारमा संलग्न चिकित्सकहरुले प्रयोगात्मक एन्टीबडी औषधी प्रयोग गरिरहेका जानकारी दिएका हुन् । यसलाई एन्टीबडी कक्टेल ड्रग भनिएको छ ।
ट्रम्पलाई आरईजिएन–कोभ २ नाम दिइएको उक्त औषधिको ८ ग्रामको एक डोज दिइएको चिकित्सकहरुले बताएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । ट्रम्पको स्वास्थ्यमा सुधार भइरहेको बताइएको छ । आरईजिएन–कोभ २ औषधि अमेरिकी कम्पनी रीजेनेरनले तयार गरेको हो । यसको परीक्षण लण्डनमा भइरहेको छ । कम्पनीको दाबीअनुसार परीक्षणको नतिजा सकारात्मक देखिएको छ ।
यो औषधीलाई मुसा र कोरोनाबाट संक्रमणमुक्त भएका बिरामीहरुको एन्टीबडी प्रयोग गरेर तयार गरिएको हो । कम्पनीले दुवै एन्टीबडी मिलेर कोरोनालाई निश्क्रिय गर्न मद्दत गर्ने दावी गरेको छ । योसंगै ट्रम्पको उपचारमा रेम्डेसिभिर, जिंक, भिटामिन डी, फेमोटिडिन, मेलाटोनिन र एस्प्रीन दिइएको छ । यी औषधीहरुको संमिश्रणले ट्रम्प चाँडै ठीक हुने चिकित्सकहरुको विश्वास छ ।