काठमाडौं, १८ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले दैनिक १८ हजार पीसीआर परीक्षण गर्न सक्ने क्षमता सरकारसँग रहेको बताउनुभएको छ । सरकारले परिस्थितिलाई हेर्दै परीक्षणको दायरा बढाउने र त्यसको तयारी स्वरुप दैनिक १८ हजार जनासम्मको परीक्षण गर्न आवश्यक सबै सामग्रीलाई तयारी अवस्थामा रोखेको दावी गर्नु्भयो । ६ लाख जनसंख्याको पीसीआर परीक्षण गर्ने तयारी सरकारले गरिरहेको समेत मन्त्री ढकालले बताउनुभयो ।
उहाँले परीक्षण नगरेको कारणले रिपोर्टहरु कम भएको भन्ने कुरा सत्य नभएको बताउनुभयो । तर सबै ठाउँमा पुगेर परीक्षण गरिएको दावि नगरिएको समेत उल्लेख गर्नुभयो । काठमाडौं उपत्यकामा संक्रमण फैलिएको सम्बन्धमा मन्त्री ढकालले सरकार नयाँ रणनीति अनुसार नियन्त्रण गर्ने गरी अगाडि बढ्न लागेको उल्लेख गर्नुभयो ।
बाहिरी जिल्लाबाट उपत्यका भित्र आउने व्यक्तिलाई क्वारेन्टीनमा राख्ने, जोर बिजोर प्रणालीबाट सवारी साधन सञ्चालन गर्न दिने र पीसीआर टेस्टको दायरालाई बढाएर जाने लगायतका विषयलाई अगाडि बढाइने बताउनुभयो । अहिले देखिएको संक्रमणको अवस्थाको वृद्धिदर अझै बढ्दै गयो भने काठमाडौं उपत्यकामा कुनैपनि बेला भयावह स्थिति आउन सक्ने भएकाले सचेत रहन आग्रह गर्नुभयो ।
त्यसैगरी मन्त्री ढकालले सीमा बाहिरबाट आउने वयक्तिहरुलाई होल्डिङ क्वारेन्टीनमा राख्ने र परीक्षण गराउने काम भएको र विदेशबाट प्लेनमा आउनेहरुलाई पनि ५ दिन सम्म काठमाडौंमा राखेर परीक्षण गरेपछि मात्रै स्थानीय क्वारेन्टाइनमा पठाउने व्यवस्था गरिएकाले त्यो जोखिम कम रहेको बताउनुभयो ।