कपिलवस्तु, ७ साउन । कपिलवस्तु नगरपालिका–५ को गोटिहवामा रहेको पुरातात्विक सम्पदा अशोक स्तम्भ एक महिनाभन्दा बढी समयदेखि डुबानमा परेको छ ।
करिब १० फिट ८ इन्च अग्लो स्तम्भको ३ देखि ४ फिट पानीमा डुबेको छ । लामो समयसम्म डुबानमा पर्दा स्तम्भ कमजोर बन्दै गएको र संरक्षणका लागि सरकारी पक्षबाट कुनै पहल नभएको स्थानीयको गुनासो छ ।
स्थानीय सुरज यादवले महत्वपूर्ण ठाउँलाई सरकारले बेवास्ता गरेको बताउनुभयो। देश-विदेशका मानिसहरू आउने ठाउँमा सरकारी निकाय लुम्बिनी क्षेत्र विकास कोषले साधारण कर्मचारी राखेको यादवको भनाई छ।
अर्का स्थानीय रामदिन बरईले पनि धार्मिक दृष्टिले महत्वपूर्ण ठाउँ वर्षायाममा पानीले भरिने गरेको तर, संरक्षणमा ध्यान सरकारले नदिएको बताउनुभएको छ।
आगामी आर्थिक वर्षमा ऐतिहासिक महत्वको सो स्तम्भलाई डुबानबाट जोगाउने लुम्बिनी क्षेत्र विकास कोषले जनाएको छ। कोषका कार्यकारी समिति सदस्य राजेश ज्ञवालीले जसरी भएपनि स्तम्ब जोगाउने गरी काम गर्ने आश्वासन दिनु भएको हो।
स्तम्भ वर्षायाममा डुबानमा पर्दा कमजोर हुँदै गएको पुरात्तत्वविदहरू बताउँछन्।