काठमाडौं, ६ असार । सरकारले प्रदेश प्रयोगशालाको क्षमता क्षमता वृद्धि गर्दै जनशक्ति थप गरी प्रतिदिन १० हजार पीसीआर परीक्षण गर्ने तयारी गरेको छ । नीजि प्रयोगशाला र प्रदेशमा स्थापना भएका प्रयोगशालाको क्षमता विस्तार गरी सरकारले प्रतिदिन १० हजार पीसीआर परीक्षण गर्ने तयारी गरेको हो ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले असार १५ भित्र प्रतिदिन १० हजारको परीक्षण गर्ने तयारी स्वरुप काम भइरहेका बताउनुभयो । जनशक्ति व्यवस्थान, ल्याबलाई २४ घण्टा सञ्चालन गर्ने र नीजि क्षेत्रबाट परीक्षण गर्नेगरी तयारी अगाडी बढाइएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘जनशक्ति व्यवस्थापन, ल्याबहरुलाई २४ घण्टा सञ्चालन गर्ने, नीजि क्षेत्रबाट गरी १० हजारको परीक्षण गर्न सकिन्छ ।’’ मन्त्री ढकालले प्रतिप्रदेशबाट १ हजारका दरले र नीजि क्षेत्रबाट ३ हजारका दरले प्रतिदिन परीक्षण हुने बताउनुभयो ।
मन्त्री ढकालले स्वास्थ्य सामग्री खरिदमा कुनै अनियमितता नभएको बताउनुभएको छ । अनियमितता भएको आशंकामा संसदको लेखा समितिले सोमबार जवाफ दिन खरिद प्रकृयामा संलग्न व्यक्तिहरुलाई बोलाएको छ । त्यअघि नै शनिबार मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा मन्त्री ढकालले सबै खरिद प्रकृया विधिअनुसार नै भएको बताउनुभयो ।
मन्त्री ढकालले विदेशबाट आउनेहरुको हकमा एउटा जहाजमा आउने सबैको पीसीआर परीक्षण गरेको सात दिन नपुगेको भए सबैलाई होम क्वारेन्टाइनमा पठाइने जानकारी दिनुभयो । यद्यपी जहाजमा आउने मध्ये एक जनाको मात्रै पनि पीसीआर परीक्षण नभएको अवस्थामा सबैलाई १४ दिन क्वारेन्टाइनमा राखिने उहाँले बताउनुभयो ।