काठमाडौं, ४ असोज । सत्तारुढ नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले माओवादी केन्द्रले कार्यकारी राष्ट्रपतिको पक्षमा वकालत गरेकोमा आपत्ति प्रकट गरेका छन् ।
वरिष्ठ नेता पौडेलले अब पनि संविधान कार्यान्वयनमा केन्द्रित नभए मुलुक अन्यौलमा धकेलिने चेतावनी दिए । बुधबार ललितपुरमा आयोजित ‘संविधान निर्माणका दुई वर्षः चुनौति र अवसरहरु’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कार्यकारी राष्ट्रपतिको पक्षमा वकालत गरेकोमा आक्रोश व्यक्त गरे ।
वरिष्ठ नेता पौडेलले मुलुकमा कार्यकारी राष्ट्रपति चाहिन्छ भन्ने माओवादी केन्द्रको पछिल्लो निर्णय मुलुकलाई अन्यौलमा धकेल्ने गरी आएको आरोप लगाए । वरिष्ठ नेता पौडेलले संविधान कार्यान्वयनमा केन्द्रित हुन पनि सबै राजनीतिक शक्तिहरुलाई आह्वान गरेका छन्।