काठमाडौं, जेठ २३ । गैर सरकारी विधेयकको रुपमा थप एउटा संविधान संशोधन विधेयक संघीय संसद सचिवालयमा दर्ता भएको छ ।
सांसद प्रेम सुवालले शुक्रबार संविधान संशोधन विधेयक दर्ता गराउनुभएको हो । सुवालले शुक्रबार संविधान संशोधन विधेयक दर्ता गराएको विधेयक शाखाकी अधिकृत सावित्रा शर्माले जानकारी दिनुभयो ।
सांसद सुवालले नेपालका नागरिक सबैलाई सैनिक तालिम दिनुपर्ने, राष्ट्रपति कार्यकारी प्रमुख हुनुपर्ने लगायत विषयमा आफ्नो संशोधन राख्नुभएको छ ।
यसअघि सरकारले नक्सा अनुसार संविधानको अनूसूची ३ मा रहेको निशान छाप संशोधनका लागि संविधानको दोश्रो संशोधन विधेयक दर्ता गराएको थियो । सो विधेयक संसदीय प्रक्रियामा प्रवेश भईसकेको छ ।
त्यसपछि राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीको तर्फबाट संयुक्त रुपमा , नेपालको संविधानको विभिन्न धारामा भएको व्यवस्था संशोधनको माग गर्दै नेपाली कांग्रेसका सांसदहरु अमरेश कुमार सिंह, उमाकान्त चौधरी लगायत ८ जनाको तथा जनमोर्चा नेपालको तर्फबाट संविधान संशोधन विधेयक दर्ता भएका छन् ।
सांसद सुवालले संविधान संशोधन विधेयक दर्ता गराएसंगै संविधान संशोधनका लागि गैरसरकारी संशोधन विधेयकको संख्या ४ पुगेको छ ।