भूमि बैंकले मुलुकलाई आत्मनिर्भर बनाउँछ : राजु प्रसाद कडेल,अध्यक्ष, पद्मा ग्रुप (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

मंसिर २४ २०८१, सोमबार

भूमि बैंकले मुलुकलाई आत्मनिर्भर बनाउँछ : राजु प्रसाद कडेल,अध्यक्ष, पद्मा ग्रुप (भिडियोसहित)

cm sir

काठमाडौं, २३ जेठ । सरकारले बजेटमार्फत भूमि बैंकको अवधारणा अघि सारेको छ । नेपालमा बजेटको इतिहासमै भूमि बैंकको अवधारणालाई सरकारले पहिलो पटक समावेश गरेको हो । वित्तीय क्षेत्रमा कारोबारको लागि त नेपाल राष्ट्र बैंक मातहतमा अन्य थुप्रै किसिमको बैंकहरु संचालनमा आइ नै रहेका छन् । तर भूमि बैंक नेपालमा अहिलेसम्म सञ्चालनमा आएको छैन । के हो भूमि बैंक ? यसबाट कस्तो कारोबार, कसरी हुन्छ ? भन्ने कौतुहलता अहिले आममानिसमा देखिन्छ । राष्ट्र बैंक अन्तर्गत अहिले मुलुकभर जति पनि बैंकहरु संचालनमा रहेका छन, भूमि बैंक पनि त्यस्तै हुन्छ कि फरक हुन्छ त ? यसको सञ्चालन विधि कस्तो होला ?

आमजनमानसको मनमा उब्जिएका यस्ता जिज्ञासाहरुको उत्तर खोज्न हामीले कृषि क्षेत्रको उत्थानको लागि लामो समयदेखि बहस गर्दै र विचार प्रवाह गर्दै आउनु भएका पद्मा ग्रुपका अध्यक्ष राजु प्रसाद कडेलसँग कुराकानी गरेका छौं । भूमि बैंक सम्बन्धमा विगत पाँच सात वर्षदेखि हरेक सम्बन्धित मन्त्री, राष्ट्रिय योजना आयोगका पदाधिकारी र सरोकारवालाहरुसँग लविङ गर्दै र आफ्ना धारणा राख्दै आउनु भएका पद्मा ग्रुपका अध्यक्ष कडेलसँग गरिएको अन्तर्वार्ताको सार संक्षेप ।

प्रश्न : भूमि बैंक भनेको के हो ?
उत्तर : लामो समयदेखि भूमि बैंकको सबैले आवश्यकता महशुस गरेकै हो । तर रुमलिरहेको थियो । यस पटक सरकारले बजेट मार्फत भूमि बैंकको अवधारणा ल्याएको छ । भूमि बैंक अवधारणाको म स्वागत गर्छु । अन्य बैंकहरु जसरी मानिसको जीवन पद्वती बनेको छ । भूमि बैंक पनि त्यस्तै हुने हो । अन्य बैंकले डिपोजिटको रुपमा पैसा राख्छ र ऋण प्रवाह गर्छ, ब्याज लिने र दिने गर्छ । यस्तै भूमि बैंक पनि अन्य बैंक जस्तै विशुद्ध बैंक नै हो, हुनुपर्छ । जसरी नागरिकले पैसा बैंकमा राख्छन त्यस्तै भूमि बैंकमा नागरिकले आफ्नो जमिन राख्न पाउँछन । व्यक्तिहरुमा रहेको ओनर्सिप भावनालाई यथावत राख्दै जसरी आफ्नो पैसा बैंकमा राख्न पाउँछन, त्यसैगरी जमिनलाई बैंकमा राख्ने र त्यस्तै कारोबार गर्न पाउनुपर्छ । जसलाई आवश्यकता पर्छ उसले सहज रुपमा जमिन राख्ने र जमिनलाई नै ऋणको रुपमा प्रवाह गर्न पाउने वातावरण बन्नुपर्छ ।

प्रश्न : अन्य बैंकहरुमा पैसा राख्दा व्याज पाउँछन्। भूमि बैंकबाट ब्याज पाउँछन् कि पाउँदैनन ?
उत्तर : पाइन्छ, पाउनु पर्छ । जसले भूमि बैंकमा राख्छ, उसले बैंकबाट निर्धारण भए अनुसारको व्याज पाउँछ । जमिन भाडामा लिन चाहनेले ऋणको रुपमा जमिन लिएर उत्पादन कार्यमा प्रयोगमा ल्याउन पाउँछ । यस्तो भएमा कुनै पनि क्षेत्रको सानो वा ठूलो जमिनहरु बाँझो रहँदैन ।

प्रश्न : भूमि बैंकको फाइदा के हो ?
उत्तर : भूमि बैंक नेपाललाई उत्पादनमा आत्मनिर्भर बनाउनको लागि हो । कृषिको बजारीकरणको लागि हो । अनि आयातलाई प्रतिस्थापनको लागि हो । यो आमनागरिकदेखि व्यवसायी र सरकार सबैको लागि हो । यसबाट सबैलाई फाइदा हुन्छ ।

cm sir 1
राजु प्रसाद कडेल,अध्यक्ष, पद्मा ग्रुप

प्रश्न : भूमि बैंक र अरु बैंकमा के फरक छ ?
उत्तर : केही फरक छैन । अन्य बैंकहरु जसरी सञ्चालनमा आएका छन्, भूमि बैंक पनि त्यसैगरी संचालनमा आउने हो । अन्य बैंकमा पैसा जम्मा गरिन्छ भने यसमा भूमि राखिन्छ । फरक यत्ति हो ।

प्रश्न : भूमि बैंक कसरी संचालनमा आउँछ ?
उत्तर : नेपाल राष्ट्र बैंक अन्तर्गत अहिले जसरी अन्य बैंकहरु सञ्चालमा छन । भूमि बैंकलाई पनि त्यसैगरी सञ्चालन गरिनुपर्छ । राष्ट्र बैंक जसरी बैंकहरुको नियमनको लागि नियमनकारी शक्तिशाली निकाय सञ्चालनमा छ । भूमि बैंकको लागि पनि यस्तै छुटृै नियमनकारी शक्तिशाली निकायमार्फत सञ्चालन गरिनुपर्छ । केन्द्रदेखि स्थानीय तहसम्म नै भूमि बैंक सञ्चालनमा आउनुपर्छ ।

प्रश्न : भूमि बैंक प्रभावकारी संचालनमा ल्याउन सरकारले के गर्नु पर्छ ?
उत्तर : बैंकिङ क्षेत्र, शैक्षिक क्षेत्र, स्वास्थ्य क्षेत्रमा जसरी निजी क्षेत्र आउने वातावरण बनेको छ । यसको लागि पनि राम्रो कानुन, नीति, नियम बनाउनु पर्छ । कडा नियमन गरिनुपर्छ । निजी क्षेत्रका व्यवसायीलाई आकर्षित गर्ने वातावरण बनाइनु पर्छ । श्रमलाई जनशक्ति र व्यवसायीसँग जोडेर मुलुकलाई आत्मनिर्भर बनाउन जतिसक्दो छिटो भूमि बैंक सञ्चालनमा ल्याइनु पर्छ ।

विस्तृत अन्तर्वार्ताको लागि तलको लिंकमा हेर्न सकिनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);