एजेन्सी, १६ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालले पाउँदै आएको कानूनी सुरक्षा खोस्ने गरी एक कार्यकारी आदेश जारी गर्नुभएको छ । केहिदिन यता सामाजिक सञ्जाल ट्वीटरसँगे विवाद बढिरहेको अवस्थामा राष्ट्रपति ट्रम्पले आक्रामक आदेश जारी गरेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।
यो कार्यकारी आदेशसँगै अब नियामक निकायले फेसबुक तथा ट्वीटरसहितका सामाजिक सञ्जालमा पोष्ट भएका सामग्रीप्रति उनीहरुले गर्ने व्यवहारविरुद्ध कानूनी उपचार खोज्न पाउने छन् ट्वीटरले ट्रम्पका केही ट्वीट भ्रामक रहेको भन्दै तथ्य जाँच राखेपछि रुष्ट भएर उहाँले सामाजिक सञ्जालले पाउँदै आएका केही कानूनी सुरक्षा हटाउने कार्यकारी आदेश जारी गर्नुभएको हो ।
यसअघि ट्रम्पले आफ्नो ट्वीटमा तथ्य जाँच राखेपछि सामाजिक सञ्जाल नै बन्द गर्ने चेतावनी दिनुभएको थियो । अहिले भने तत्काललाई ती कम्पनीहरुले पाउँदै आएको केही कानूनी अधिकार कटौती गरिएको हो ।
कार्यकारी आदेश जारी गर्दै ट्रम्पले सामाजिक सञ्जालसँग हाल बिना नियमन असीमित शक्ति रहेको टिप्पणी समेत गर्नुभयो । तर ट्रम्पको यो आदेश विरुद्ध अदालतमा उजुरी पर्ने सम्भावना रहेको बताइएको छ । आलोचकहरुले ट्रम्पले यसरी आदेश जारी गर्न नसक्ने भन्दै संसदीय वा अदालती प्रक्रिया पूरा गर्नुपर्ने टिप्पणी गरेका छन् ।