काठमाडौं, ४ जेठ । सरकारले कोरोना भाइरस संक्रमण रोकथामका लागि जारी गरेको लकडाउनको आज ५५ औं दिन पुगेको छ ।
कोरोना भाइरस नियन्त्रणका लागि सरकारले गत चैत ११ गते यता देशभर लकडाउन गरेको हो । कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि सरकारले पटक–पटक थप गरेर लकडाउनलाई जेठ ५ गतेसम्म लम्व्याएको छ । लकडाउनका कारण जनजीवन प्रभावित भएको छ ।
काठमाडौं उपत्यका सहित देशैभर अत्यावश्यक बाहेकका कार्यालयहरु बन्द रहेका छन् । गत आइतबारबाट सरकारले अत्यावश्यक सेवाका कार्यालय सञ्चालनमा केही सहज गरेपनि संक्रमितको संख्या बढ्दै गएपछि पुनः लकडाउन कडा पारेको छ ।
सरकारले उपत्यकामा टाइम कार्ड लागू गरी विभिन्न ४२ प्रकारका उद्योग व्यवसाय तथा सरकारी कार्यालयहरु, बैंक तथा वित्तीय संस्था सञ्चालन गर्ने निर्णय गरेपनि संक्रमितको संख्या बढ्दै गएपछि अहिले सरकारले उपलब्ध गराएका सम्पूर्ण पासहरु रद्द गरिएका छन् । उपत्यकाका विभिन्न ठाउँमा सुरक्षाकर्मीले सवारी साधनको चेकजाँचलाई कडाई गरेका छन ।
उपत्यकाका भित्रि गल्लिहरुमा समेत जथाभावि नहिड्न प्रशासनले निर्देशन दिएको छ । सरकारले लकडाउनमा थप कडाइ गरेपछि काठमाडौं उपत्यका सुनसान भएको छ । अत्यावश्यक सेवाका सवारी साधनहरु, सञ्चारकर्मी, स्वास्थ्यकर्मीका सवारी साधन भने सञ्चालन गर्न दिइएको छ । त्यसैगरी काठमाण्डौ उपत्यका बाहिर पनि लकडाउनमा कडाइ गरिएको छ । सातै प्रदेश र ७७ वटै जिल्लाका शहर बजार सुनसान देखिएका छन् ।