काठमाडौं, २ जेठ । सरकारले आज संसदमा आर्थिक बर्ष २०७७/७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ ।
संघीय संसद प्रतिनिधि र राष्ट्रिय सभाको संयुक्त बैठकमा अपरान्ह ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारका तर्फबाट नीति तथा कार्यक्रम सार्वजनिक गर्नुहुनेछ । सरकारले कोरोना भाइरसबाट सिर्जित संकट समाधानलाई केन्द्रीत गरेर नीति तथा कार्यक्रम ल्याउन लागेको हो ।
सरकारले नीति तथा कार्यक्रममा स्वास्थ्य पूर्वाधार, रोजगारी सिर्जना र कोरोनाले समस्या परेका क्षेत्रका लागि सुविधा र आर्थिक प्याकेजलाई प्राथमिकतामा राखेको जनाइएको छ । २०७४ को निर्वाचनपछि बनेको वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याउन लागेको तेस्रो वर्षको यो नीति तथा कार्यक्रम विगत दुई वर्षको जस्तो महत्वाकांक्षी नहुने बताइएको छ ।
कोरोनाका कारण संकट बढेका बेला महत्वकांक्षी कार्यक्रम कार्यान्वयन गर्न नसकिने ठहर गर्दै यसपटक अत्यावश्यक र विशेषगरी संकटबाट सिर्जित समस्या समाधान गर्ने खालका कार्यक्रममा मात्र सरकारले जोड दिन लागेको हो । सरकारले ल्याउने नीति तथा कार्यक्रममा सबै क्षेत्रमा रोजगारी सिर्जना गर्ने प्रकृतिका कार्यक्रम समावेश भएका जनाइएको छ ।