काठमाडौं, २३ वैशाख । लकडाउनका कारण आम नागरिकहरु घर भित्रै थुनिएको अवस्था । नागरिक मात्र होइन, नेता कार्यकर्ता, जनप्रतिनिधि सबै घर घरमा नै क्वारेन्टाइनमा बसेको समय । डर, त्रास र भयको अवस्थामा गुज्रिरहेको देश । त्यसमाथि झमझम पानी परेको । सहरका हरेक सडक मृत जस्तै सुनसान थियो । एक प्रकारको सन्नाटा छाएको अवस्थामा हातमा छाता बोकेर एकजना व्यक्ति सडकमा उभिएर अरलपरल गर्दै थिए । मध्ये दिउँसो, पानी बेजोडले परिरहेको थियो । न पानीको प्रवाह थियो, न लकडाउनले नै छोएको थियो ।
यस्तो मौसमको प्रतिकूल अवस्थामा पनि काठमाडौंको सितापाईला–रामकोट–भीमढुंगा सडक खण्डमा एक जना मानिस सडकमा चलिरहेको डोजरको अघिपछि गर्दै निर्देशन गरिरहेका देखिन्थे । झटृ हेर्दा अनौठो लागि रहेको यो दृष्यले सबैको आँखा तान्थ्यो । लकडाउनको अवस्था र त्यसमा पनि झमझम पानी परिरहेको बेला डोजरलाई निर्देशन दिदैं बाटो बनाइ रहने को होला भन्ने लाग्यो ? नजिक पुगेर हेर्दा ती छाता ओढेर डोजरको अघि पछि गर्ने व्यक्ति अरु कोही नभई नागार्जुन नगरपालिकाका मेयर मोहन बहादुर बस्नेत हुनुहुन्थ्यो ।
लकडाउनको बेला जननिर्वाचित मेयर नै सडकमा उभिएर सडक निर्माणमा लागिरहेको देखेपछि हामीमा जिज्ञासा बढ्यो । केही बेर मेयर बस्नेतसँग कुरा गर्ने मन भयो । लकडाउनको बेला, त्यसमाथि पनि पानी परिरहेको बेला किन सडकमा भन्ने ? हामीले प्रश्न अघि सार्यौ । अनि फेरी, जनप्रतिनिधिहरु राहतको कार्यमा व्यस्त हुनुपर्ने बेला किन सडकमा भन्ने प्रश्न पनि राख्योै ।
त्यसपछि मेयरले बस्नेतले आफ्ना कुरा यसरी भन्नु भयो ।
“काठमाडौं उपत्यका विकास प्राधिकरणले निर्माणको जिम्मा पाएर पनि काम गरेन । चार वर्ष अघि नै बजेट आएको थियो, तैपनि काम हुन सकेको थिएन । कति पर्खिने भनेर अब अधुरो रहेको यो सडक बनाउन थालिएको ।”
हुन पनि हो । झमझम परिरहेको पानीको प्रवाह नगरी छाता ओढेर मेयर बस्नेत विकास निर्माण कार्यमा अग्रमोर्चामा उभिएर आफै खटिरहनु भएको थियो । मानवीय चहलपहल शून्य भएको यो मौकालाई छोपेर सितापाइलास्थित नागार्जुनको सडक मर्मत तथा चौडा बनाउने काम धमाधम काम भइरहेको छ ।
काठमाडौं उपत्यका विकास प्राधिकरणले ११ मिटर चौडाइको सडक बनाउने जिम्मा पाएको रहेछ । तर वर्षौ वितिसक्दा पनि सडक निर्माणको कार्य नभएपछि वर्षामा हिलो, गर्मीमा धुवाँ धुलोले नगरवासीहरुले पाएको दुःखलाई खुशीमा बदल्न उहाँले यो समयलाई सदुपयोग गरी सडक मर्मतको कार्यमा सकृता देखाउनु भएको रहेछ । हामी पनि उहाँकै छातामा ओत लागेर एकछिन सडक निर्माणमा चलिरहेको डोजरलाई हेर्दै उहाँसँग एकछिन गफियौं ।
चार वर्षदेखि अलपत्र छाडेको सडकमा पक्की हुने भएपछि नगरवासीले धन्यवाद दिएको अनुभव मेयर बस्नेतले माउन्टेन टिभी अनलाइनलाई सुनाउनुभयो । भन्नुभयो– “आगामी २ वर्ष भित्र ७ सय मिटर सडक स्तरोन्नती गर्ने लक्ष्यसहित हामी नागार्जुन नगरपालिकाको मुहार फेर्न लागेका छौं ।”
प्रदेश सरकार र स्थानीयवासीले आफ्नो कामलाई उर्जा थपिदिएको बताउनु हुने मेयर बस्नेत भन्नुहुन्छ– “विकासको मुख्य पुर्वाधार सडक विस्तार, मर्मत लगायतमा सुधार ल्याउन सकेमा विकासका अन्य क्षेत्रहरुमा समेत सुधार गर्न सकिने अपेक्षा लिएको छु ।”
अहिलेको अवस्थामा मेयर राहतमा नजुटिकन सडक मर्मत कार्य लाग्नु ठिक बेठिक आफ्नै ठाउँमा होला तर परिस्थिती र समयलाई आफू अनुकूल बनाएर आफ्ना नगरवासीलाई दिगो रुपमा सजिलो बनाइदिने कार्य भने पक्कै पनि प्रशंसा योग्य छ ।
तत्काललाई हेर्दा यो सडक नागार्जुनवासीको सजिलोको लागि भन्ने जस्तो देखिन्छ । तर वास्तविकता यतिमा मात्र सीमित छैन । यो सडक सितापाईला–रामकोट–भीमढुंगा हुँदै धादिङको धार्केसम्म निर्माण हुनेछ । सडकको लागि झण्डै ४४ करोडको बजेट विनियोजन छ । विनियोजित बजेटको सदुपयोग भइ सडक बेलैमा बनेमा यसले कलंकी नागढुंगा सडक खण्डको पट्यारलाग्दो जामलाई पनि उपयुक्त विकल्प दिनेछ ।
भिडियो लिंक :