काठमाडौं, ८ वैशाख । काठमाडौं महानगरले भारत तथा तेस्रो मुलुकबाट आएर महानगरभित्र बसोबास गरिरहेका नागरिकहरुको कोरोना परीक्षणलाई तिव्रता दिएको छ । महानगरभित्र बसोबास गरिरहेका विदेशबाट आएका नेपाली नागरिक वा विदेशी नागरिकहरुको र्यापिड डाइग्नोष्टि (आरडिटी) विधिबाट परीक्षण थालिएको हो ।
सोमबार महानगरले वडा नम्बर ६, ७, ८ र ९ मा परीक्षण गरेको छ । २ सय जनाको परीक्षण गर्ने लक्ष्यसहित सो वडाहरुमा परीक्षण थालिएको महानगरले जनाएको छ । आइतबारसम्म महानगरभित्र साढे ६ सय जनाको परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको मेयर विद्यासुन्दर शाक्यले बताउनुभयो ।
विदेशबाट आएका नागरिकहरु सरकारको आग्रह अनुसार होम क्वारेन्टाइनमा बसिरहेकाले शंका गर्नुपर्ने अवस्था नरहेको उहाँको भनाई छ । कुनै व्यक्तिमा पोजेटिभ देखिए थप परीक्षणका लागि टेकु अस्पताल पठाइने र सम्बन्धि वडामा छुटेकाहरुले अर्को वडामा गएर परीक्षण गर्न सक्ने उहाँले बताउनुभयो ।
महानगरले प्रत्येक वडाहरुमा परीक्षण थालेपनि किटको व्यवस्थापन सहज नभएको गुनासो काठमाडौं ४ बाट निर्वाचित सांसद गगन थापाले गर्नुभयो ।
सोमबार परीक्षण गरिएका वडाहरुका लागि किट माग्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा हारगुहार नै गर्नुपरेको उहाँको भनाई छ । आरडिटी परीक्षणमा पोजेटिभ आएको तर पिसिआरमा नेगेटिभ आएका व्यक्तिको सम्पर्कमा आएका अन्य व्यक्तिहरुको पनि परीक्षण हुनुपर्नेमा त्यस्तो नभएको उहाँले बताउनुभयो ।
अहिले नेपालमा ३१ जनामा कोरोना पोजेटिभ देखिएको छ । जसमा ४ जना उपचारपछि निको भएर घर फर्किएका छन्, भने २७ जना विभिन्न अस्पतालमा उपचाररत रहेका छन् ।