काठमाडौं, ५ वैशाख । मनमोहन मेमोरियल अस्पतालका एक कर्मचारी कोरोना बुथ चाहियो भन्दै बिहीबार बिहान साढे ११ बजे राष्ट्रिय आविष्कार केन्द्र कीर्तिपुर पुगे । तयार हुन बाँकी रहेको भन्दै केन्द्रका कर्मचारीले फर्काउन खोजे तर ती कर्मचारी फर्केनन् ।
कति बेला तयार हुन्छ, त्यतिन्जेल बस्छु र लिएरै जान्छु भने । अस्पतालका कर्मचारीको अड्डीका अगाडि केन्द्रका कर्मचारीको केही लागेन, ४ बजे आउन भने । अनि ती कर्मचारी फर्किए ।
केन्द्रमा पीपीई माग्न आउने एम्बुलेन्स चालक पनि उत्तिकै थिए। केन्द्रले अस्पतालको चिठीबिनै लाइसेन्सको फोटोकपी, एम्बुलेन्स नम्बर र संस्थाको नाम टिपाएकै आधारमा पीपीई उपलब्ध गराउने गरेको छ। ‘बिनाझन्झट पैसा नतिरी पीपीई पायौं,’ आनन्द वन अस्पतालका एम्बुलेन्स चालकले भने, ‘किन्नसमेत नपाइने यस्तो सामान पायौं, अब अलि सुरक्षित हुने भइयो।’
केन्द्रका अनुसार मुलुकभरका ३ सयभन्दा बढी एम्बुलेन्स चालकलाई पीपीई वितरण गरिसकिएको छ। केन्द्रले चिकित्सक, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई समेत पीपीई उपलब्ध गराउँदै आएको छ। केन्द्रको पछिल्लो उत्पादन कोरोना बुथ हो। यसबाहेक पीपीई, एरोसोले बक्ससमेत बनाएर अस्पताललाई नि:शुल्क वितरण गरिरहेको छ। वर्षौं बिग्रिएर थन्किएको सरकारी अस्पतालको भेन्टिलेटरसमेत बनाइसकेको केन्द्रका बायोमेडिकल इन्जिनियर सञ्जयबहादुर सिंहले बताए।
केन्द्रका प्राविधिकहरू कोरोना संक्रमित बिरामी भएको ठाउँसम्म औषधि र खानेकुरा पठाउने रोबोट बनाउने प्रयासलाई पनि अन्तिम रूप दिइरहेका छन्। चिकित्सक र स्वास्थ्यकर्मीको सुरक्षाका लागि आवश्यकता के हो, त्यही बनाइरहेका छौं,’ मेकानिकल इन्जिनियर रितेश देवले भने, ‘संक्रमित बिरामीबाट उहाँहरूलाई सुरक्षित बनाउने हाम्रो प्रयास हो।’
केन्द्रले कोरोना (कोभिड–१९) भए/नभएको पत्ता लगाउन बिरामीको स्वाब परीक्षण गर्ने चिकित्सकलाई सुरक्षित राख्न केन्द्रले बुथ निर्माण गरेको छ। जुन बुथ मागअनुसार बनाउन हम्मेहम्मे परेको केन्द्रका मेकानिकल इन्जिनियर देवले बताए। केन्द्रका प्राविधिकले दुई वटा बुथ तयार गरिरहेका छन्।
यस्ता बुथ १६ वटा बनाएर वितरण गरिसकेको केन्द्रले जनाएको छ। केन्द्रका प्रमुख महावीर पुनका अनुसार सैनिक, एपीएफ, वीर, टिचिङ, भक्तपुर, काठमाडौं मोडल र टेकु अस्पतालमा बुथ पठाइएको छ।
यसबाहेक मेची अस्पतालका साथै दमक, इटहरी, विराटनगर, धरान, वीरगन्ज, बुटवल, सुर्खेत, धनगढी, पोखरा र बागलुङका अस्पताललाई पनि बुथ दिइसकेको उनले बताए। कान्तिपुर दैनिकले खबर छापेकाे छ ।




