कम्मरमुनिको भाग नचल्ने महिलालाई डाइपर नपाउँदा समस्या | ईमाउण्टेन समाचार

Our Network

चैत २१ २०८२, आइतबार

कम्मरमुनिको भाग नचल्ने महिलालाई डाइपर नपाउँदा समस्या

daypad

काठमाडाैं, ५ वैशाख । जीवन भोगाइ र संघर्षको यात्रा हो, उमेर बढ्दै जाँदा पाठ सिक्दै गइन् । आत्मबल उच्च पार्दै लगिन् । लक्ष्य बोकिन्– यो जीवन आफूजस्तै अपांगता भएकाहरूका लागि समर्पित गर्छु । गायत्री अपांगता भएकाहरूको हकअधिकारका लागि पैरवीमा होमिइन्, आज त्यही मैदानमा छिन् ।

तर, जति बोले पनि सरकारले नसुनेपछि कहिलेकाहीँ निराश हुन्छिन् उनी । अहिले लकडाउनमा आफूजस्ता अपांगता भएकाहरूको कष्ट नबुझेकोमा सरकारप्रति गुनासो छ उनको ।

४५ वर्षीया गायत्रीका लागि शौच जानु सबैभन्दा कठिन दैनिकी हो । पेट भर्न दाल, चामल र पानी उनका लागि जति महत्वपूर्ण छ, त्योभन्दा अपरिहार्य डाइपरको पर्छ । तर, लकडाउनमा उनलाई डाइपर अभाव छ । त्यसैले उनी आजभोलि खाना र पानी सकभर कम खाइरहेकी छिन्, ता कि डाइपर धेरै आवश्यक नपरोस् ।

‘२४ घन्टामा कम्तीमा तीनपटक डाइपर फेर्नैपर्छ । तर, अहिले पसल नखुलेकाले पाइँदैन,’ उनले पीडा सुनाइन्, ‘टन्न खाए शौच धेरै लाग्ने भएकाले बरु भोक खप्ने गरेकी छु । खाना र पानी सकेसम्म कम खाइरहेकी छु ।’

जोरपाटीस्थित एक होस्टेलमा बस्ने उनी लकडाउनमा एक्लै बस्न समस्या भएपछि सुन्दरीजलस्थित भाइबुहारीको घरमा गएकी छिन् । सुन्दरीजलबाट त झन् बजार टाढा छ । डाइपर किन्न झन् समस्या छ । उनका अनुसार स्पाइनल इन्जुरी भएका पुरुषलाई भन्दा महिलालाई युरिन इन्फेक्सनको सम्भावना बढी हुन्छ । बेलैमा डाइपर नफेरे युरिनरी ब्लाडरमा घाउ हुन्छ ।

‘दुई साताअघि मलाई यस्तै समस्या भयो । अस्पताल जान पनि समस्या भयो, प्रहरीलाई अनुरोध गरेर साथीको गाडी बोलाएर अस्पताल पुगेँ,’ गायत्रीले भनिन् । महिनामा अचानक कुनै रोग नलागे सामान्य औषधि तथा आवश्यक सामग्री किन्न पनि कम्तीमा १० हजार खर्च लाग्ने उनले बताइन् ।

स्पाइनल इन्जुरीका बिरामीलाई खाद्यान्नसँगै डाइपरलगायत पनि राहत दिनुपर्ने गायत्री बताउँछिन् । गोकर्णेश्वर नगरपालिकाले अहिले छुट्टै राहत प्याकेज नबाँडे पनि पहिल्यै होस्टेलमा बस्नेहरूलाई डाइपर बाँडेकाले लकडाउनमा केही राहत मिलेको बताउँछिन् । उपत्यकाबाहिर बस्नेहरू खास समस्यामा परेको हुन सक्ने उनले बताइन् । नयाँ पत्रिका दैनिकमा शिल्पा कर्णले समाचार लेखेकी छिन् ।