नमोबुद्धमा अपांगता भएका व्यक्तिका लागि स्वास्थ्य एवं सहायक सामग्री हस्तान्तरण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

नमोबुद्धमा अपांगता भएका व्यक्तिका लागि स्वास्थ्य एवं सहायक सामग्री हस्तान्तरण

काभ्रे । नमाबुद्ध नगरपालिकामा अपांगता भएका व्यक्तिहरुका लागि स्वास्थ्य सामग्रीसहित अत्यावश्यक सहायक सामग्रीहरु वितरण गरिने भएको छ । वडा कार्यालयमार्फत सबै वडामा रहेका अपांगता भएका व्यक्तिका लागि वितरण गर्न लागिएको सहायक सामग्री र स्वास्थ्य सामग्रीहरु आइतबार नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले सम्वन्धीत वडाका वडाअध्यक्षहरुलाई हस्तान्तरण गरेका छन् ।

नगरपालिका स्तरीय अपांगता परिचय पत्र सिफारिस समन्वय समिति संयोजक एवं उपप्रमुख रामदेवी तामाङको अध्यक्षतामा भएको कार्यक्रममा ह्वील चेयर १४ वटा, कमोड ट्वाइलेट १३ वटा, वैशाखी ६ वटा, दृष्टिबिहीनका लागि सेतो छडी ५ वटा, लठ्ठी १५ वटा, फोष्टिक लठ्ठी १ वटा हस्तान्तरण गरिएको छ । यस्तै १०० एमएलको सेनिटाइनर ३५० थान, मास्क ३५० प्याकेट तथा मस्किटो लिक्विड ४०५ थान हस्तान्तरण गरिएको छ ।

कार्यक्रममा नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले चालु आर्थिक बर्षमा स्वास्थ्य क्षेत्रका लागि विशेष कार्यक्रमहरु तय गरिएको र यसबाट जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरु थप लाभान्वित हुने बताए । उनका अनुसार नगरस्तरीय कार्यक्रमअन्तर्गत दाँतसहितको मुस्कान कायृक्रमअन्तर्गत १०० जनाको दाँत राख्ने, तिलगंगा आँखा अस्पतालसँगको समन्वयमा सुगर र आँखा युनिट तयारी कार्यक्रम, नेपाल हियरिङ एन्ड स्पिच सेन्टर, यु नेपाल आई प्रोग्राम तिलगंगाको समन्वयमा १०० जनाका लागि कानमा राख्ने मेसिन वितरण हुनेछ ।

यस्तै जेष्ठ नागरिक सेन्टर बत्तिसपुतलीसँगको सहकार्यमा अल्जाइमर्सको उपचार कार्यक्रम तथा कान नसुन्ने एवं आँखा नदेख्ने अपांगता भएका व्यक्तिलाई मैत्रीपूर्ण मोबाइल वितरणको कार्यक्रम गरिनेछ भने विपन्न र अपांगता भएका १ हजार परिवारका लागि पारिवारिक स्वास्थ्य बीमा कार्यक्रम तय गरिएको छ । नगर प्रमुख तिमल्सिनाले नगरमा रहेका जेष्ठ नागरिकका लागि वृद्धवृद्धा भेटघाट चौतारी निर्माण गरिएको जानकारी दिँदै सामाजिक सुरक्षावापतको रकम बैंकिङ प्रणालीमार्फत सहजरुपमा वितरण भइरहेको पनि बताए ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले अपागता भएका व्यक्तिका लागि हस्तान्तरण भएका सामग्री सम्वन्धीत वडा कार्यालयमार्फत वितरण हुने जानकारी दिए । उनले नगरपालिकाका प्रशासकीय भवनका साथै सवै वडा कार्यालय एवं स्वास्थ्य संस्था अपांगमैत्री बनाइएको पनि बताए ।

नमोबुद्ध नगरपालिका महिला बालबालिका तथा समाजकल्याण उपशाखा प्रमुख तारादेवी सुरुवारका अनुसार आर्थिक बर्ष २०७७/७८ को अन्त्यसम्ममा नमोबुद्ध नगरपालिकामा ३५० जना अपांगता भएका व्यक्ति रहेका छन् । चालु आर्थिक बर्षमा पनि थप अपांगता परिचयपत्र वितरण भइरहेको उनले जानकारी दिएकी छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);