काठमाडौं, २२ चैत । विश्वभर ११ लाख बढि कोरोनाबाट संक्रमित भएका छन् । सङ्क्रमितमध्ये २ लाख २८ हजार ४०५ उपचारपछि घर फर्किएका छन् । अहिले ८ लाख १० हजार २६५ जनामा कोरोना भाइरस सक्रिय देखिएको छ । तीमध्ये ३९ हजार ४३९ जना भने गम्भीर अवस्थामा छन् ।
कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५९ हजार नाघेको छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वल्डो मिटर डट इन्फोका अनुसार यो समाचार तयार पारिसक्दासम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५९ हजार १७२ पुगेको छ ।
कोरोनाको उद्गम स्थल चीन भए तापनि कोरोना संक्रमणबाट सबैभन्दा बढी मृत्यु हुनेमा इटाली, स्पेन त्यसपछि अमेरिका पर्छ । वर्ल्डो मिटर्स डट इन्फोका अनुसार इटालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ हजार ६८१ पुगेको छ ।
इटालीमा पछिल्लो २४ घण्टामा मात्रै ७६६ जनाको मृत्यु भएको छ भने ४ हजार बढी नयाँ संक्रमित भेटिएका छन् । अहिलेसम्म इटालीमा १ लाख १९ हजारभन्दा बढीमा कोरोनाको संक्रमण भएको छ । तीमध्ये १९ हजार ७५८ जना पूर्ण रुपमा निको भएका छन् । अहिले त्यहाँ ८५ हजार ३८८ जनामा कोरोनाको सक्रिय संक्रमण रहेको छ । संक्रमितमध्ये ४ हजारभान्दा बढीको अवस्था गम्भीर रहेको छ ।
सबैभन्दा बढी कोरोना संक्रमण हुने देश हो अमेरिका । अहिलेसम्म अमेरिकामा २ लाख ७७ हजारभन्दा बढीमा कोरोनाको संक्रमण भएको छ । शुक्रबार मात्रै अमेरिकामा ३२ हजारभन्दा बढी नयाँ कोरोना संक्रमित भेटिएका छन् ।
अहिलेसम्म अमेरिकामा कोरोनाबाट ७ हजार ३९२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टाभित्र अमेरिकामा १ हजार ३२१ जानको मृत्यु भएको छ । संक्रमितमध्ये १२ हजार २८३ जान भने पूर्ण रूपमा निको भएका छन् । अहिले अमेरिकामा २ लाख ५७ हजारमा कोरोना सक्रिय रहेको छ । तीमध्ये ५ हजार ७८७ जनाको भने अवस्था गम्भीर रहेको छ । ईत्यादि
एजेन्सीको सहयोगमा