काठमाडौँ, १८ चैत । अस्पतालहरूले प्रत्येक वर्ष राज्यबाट भन्सार छुट लिइरहेका छन् । गत वर्षमात्र ११ अर्ब ७० करोड २३ लाखको सामग्री खरिद गर्दा एक अर्ब ८१ करोड ३८ लाख भन्सार छुट लिएका निजी अस्पतालले अहिले जनता संकटमा पर्दा गेट बन्द गरेका छन् । आंशिक रुपमा खुलेका कतिपय अस्पतालले रुघाखोकी र ज्वरो आएकालाई मात्र होइन, पखाला लागेका र ढाड दुःखेका बिरामीलाई पनि भर्ना गर्न छाडेका छन् ।
स्वास्थ्य मन्त्रालयले सिफारिस गरेर गत आर्थिक वर्ष ०७५/७६ मा एक अर्ब ८१ करोड छुट दिएको थियो । छुटका लागि सिफारिस गर्ने स्वास्थ्य मन्त्रालयले निजी अस्पतालले जनउत्तरदायित्व पूरा नगर्दा कारबाही गरेको छैन । मन्त्रालयका अनुसार मेडिकल उपकरण, एम्बुलेन्स, बस, माइक्रोबसलगायतका सामग्री आयातमा अस्पतालहरूले कुल लागतको साढे १५ प्रतिशतसम्म भन्सार छुट पाउने गरेका छन् । गत वर्ष र चालू आर्थिक वर्षमा झापाको बी एन्ड सी अस्पतालले १२ करोड ४० लाख भन्सार छुट पाएको थियो । ८० करोडको सामग्री खरिद गरेको विवरण पेस गरेर बिएन्डसी अस्पताललाई १२ करोड ४० लाख छुट दिन गत २६ साउनमा स्वास्थ्य मन्त्रायले निर्णय गरेको थियो ।
७५ करोडको सामान खरिद गरेको नेपाल मेडिसिटी अस्पतालले ११ करोड ६२ लाख छुट पाएको थियो । त्यस्तै, नेसनल मेडिकल कलेज, नोवेल मेडिकल कलेज, चितवन मेडिकल कलेज, नेपाल मेडिकल कलेज, ग्रिनसिटी हस्पिटल, ह्याम्स हस्पिटल, मेडिकेयर, अन्नपूर्ण न्युरो, ब्लु क्रस हस्पिटल र हेल्पिङ ह्यान्डस्ले समेत भन्सार छुट लिएका छन् (विवरण बक्समा हेर्नोस्) । त्यस्तै, ग्रान्डी इन्टरनेसनल, नर्भिक र वयोधाजस्ता काठमाडौँका ठूला अस्पतालले पनि वर्षेनी भन्सार छुट लिँदै आएका छन् ।
तर, यी अस्पतालले अहिले कोरोना संक्रमणको आशंका भएका बिरामीको उपचार त परको कुरा नियमित स्वास्थ्य परामर्शसमेत दिँदैनन् । केही अस्पतालले पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पिपिई) नभएको बहाना बनाएर सेवा बन्द गरेका छन् । तर, फाइभस्टार हस्पिटल चलाउने भनेर जनताबाट चर्को सेवा शुल्क असुल्ने अस्पतालले पिपिईजस्तो संवेदनशील सामग्री पनि स्टक किन राख्दैनन् भन्ने प्रश्न पनि जिवित छ । सर्वसाधारण बिरामीलाई निजी अस्पतालले बेवास्ता गरेको विषय स्वास्थ्य मन्त्रालयलाई जानकारी नभएको होइन । ‘हो, बिरामी नहेर्ने मात्रै होइन, चिकित्सक छैनन् भनेर सुरक्षागार्डहरूमार्फत गेटबाटै फर्काउने पनि गरेका छन्,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले भने, ‘राज्यलाई सहयोग गर्नुपर्ने संकटको घडीमा आकस्मिक बिरामीलाई समेत सेवा नदिएर फर्काउने अस्पतालहरूविरुद्ध मन्त्रालयले कडा कदम चाल्छ ।’
कोरोना भाइरसको संक्रमण र त्यसको नियन्त्रण तथा उपचारका लागि सर्वसाधारणलाई परामर्श दिन स्वास्थ्य मन्त्रालयले राखेका तीनवटा हटलाइनमा दैनिक कम्तीमा दुई सय सर्वसाधारणले फोन गर्छन् । ती अधिकांशले अस्पतालले बिरामी हेर्न नमानेको गुनासो गर्ने गरेको मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक भीम सापकोटाले बताए । किस्ट मेडिकल कलेज, ब्लुक्रस अस्पताल, कान्तिपुर अस्पताल, बयोधा अस्पताल, मेडिकेयर अस्पताललगायत देशभरका निजी अस्पतालहरूले ज्वरोका बिरामी हेरेका छैनन् । सरकारी स्वामित्वका त्रिवि शिक्षण अस्पताल र वीर अस्पतालले समेत ज्वरोका बिरामीलाई फर्काउने गरेका छन् । नयाँ पत्रिका दैनिकमा अर्जुन अधिकारीले समाचार लेखेका छन् ।