१२ करोड ४० लाखको भन्सार छुट लिने बिएन्डसी अस्पतालले झाडा पखाला लागेका बालकलाई गेटबाट फर्काइदियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

१२ करोड ४० लाखको भन्सार छुट लिने बिएन्डसी अस्पतालले झाडा पखाला लागेका बालकलाई गेटबाट फर्काइदियो

Balak-birami

काठमाडौँ, १८ चैत । झापाको अर्जुनधारा–११ का अजित भारतीका डेढ वर्षीय छोरा आश्विनलाई लामो समयदेखि ज्वरो आएको थियो । यो त्यतिवेलाको कुरा थियो, जतिवेला निजी अस्पतालले नाफाका लागि बिरामी तानातान गर्थे । लामो समय अस्पताल बसेपछि बालकको स्वास्थ्य सुधार भयो र उनलाई घर लगियो ।

तर, पछिल्लो समय बान्ता आउने र पखाला चल्ने भएपछि परिवारले बिर्तामोडस्थित बिर्तासिटी अस्पताल पुर्‍यायो । तर, डाक्टर नभएको भन्दै अस्पतालले फर्काइदियो । ‘त्यहाँबाट फर्किएपछि हामीले बी एन्ड सी लग्यौँ । त्यहाँ त झन् गेटबाटै खेदयाे । पखाला लागेको छ र बच्चा सिकिस्त छ भनेर हारगुहार गर्दा पनि अस्पताल प्रशासनले भर्ना गर्न मानेन । बिरामीका आफन्त कोषराज कटुवालले भने, ‘अहिले क्लिनिकबाट औषधी ल्याएर घरमै उपचार गरिरहेका छौँ । तर, संकटको वेला बालबालिकापट्टि सामान्य दया पनि नराख्ने अस्पताललाई सरकारले किन कारबाही गर्दैन ? हामीले जस्तै अरु कतिले दुःख पाए होलान् । सोचेर हामी चिन्तित छौँ ।’

देशमा कोरोनाको सन्त्रास बढेयता निजी अस्पतालले बिरामीलाई गेटबाटै फर्काउने गरेका छन् । छिमेकीको घरमा लड्दा कन्काई नगरपालिका–१ का चित्रबहादुर दर्जी (४०) अचेत भए । उनलाई पनि बिएन्डसी अस्पताल लगिएको थियो । तर, बिरामी अचेत छन् भनेर याचना गर्दा पनि अस्पतालले गेट खोल्न मानेन । उनका आफन्त गेटमै विलखबन्दमा थिए । कतिसम्म भने मेची अस्पतालले समेत उनीहरूको पीडा सुनेन ।

त्यसैगरी, पाल्पाको बगनासकाली गाउँपालिका–२ पोखराथोकका २० वर्षीय दामोदर कुमाल अस्पतालले उपचार नगरिदिएपछि दुई दिनदेखि घरमै थलिएर बसेका छन् । आइतबार उनलाई एक्कासि ज्वरो आयो । परिवार आत्तिए, किनभने ९ चैतमा मात्रै उनी भारतबाट घर फर्किएका थिए । उनकी आमाले बगनासकाली स्वास्थ्य संयोजक मनिराम अधिकारीलाई जानकारी गराएर छोराको उपचारमा सहयोग गर्न भनिन् ।

अधिकारीले तानसेनको युनाइटेड मिसन अस्पतालमा फोन गरे । तर, अस्पतालले ज्वरो आएको बिरामीलाई ल्याउँदै नल्याउन भन्यो । अधिकारीले भने, ‘मैले अस्पतालमा फोन लगाएँ, ज्वरोको बिरामी ल्याउन लागेको बताएँ । तर, यहाँ ल्याउँदै नल्याउनु, हामी हेर्न सक्दैनौँ भन्ने जवाफ दिए ।’

परिवार झन् आत्तियो । त्यसपछि एम्बुलेन्समा तानसेनकै लुम्बिनी मेडिकल कलेज पुर्‍याए । अस्पतालपरिसर पुगेपछि आमा सावित्रा एम्बुलेन्सबाट झरेर सीधै इमर्जेन्सीमा पुगिन् । नर्सलाई छोराको समस्या सुनाइन् । तर, त्यहाँ पनि व्यवहार राम्रो भएन । ‘होइन, होइन बिरामीलाई एम्बुलेन्सबाट झार्दै नझार्नुस् । हामी बाहिरै हेर्छौँ,’ नर्सको भनाइ उद्धृत गर्दै सावित्राले नयाँ पत्रिकासँग भनिन् ।

त्यसपछि एम्बुलेन्सको पछाडिको ढोका खोलेर टाढैबाट थर्मल गनले दामोदरको ज्वरो नापियो । नर्सले केही औषधि आमाको हातमा थमाइदिइन् र तत्काल फर्किन भनिन् । अस्पतालमा भोगेको अपमान सम्झिँदै सावित्राले भनिन्, ‘छोराले पिसाब लाग्यो भन्दा पनि झर्न दिएनन् । पछि चालकले जंगलतिर पुगेपछि एम्बुलेन्स रोकिदिए ।’ नयाँ पत्रिका दैनिकमा समाचार छापिएकाे छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);