औषधिमा कम्तीमा ५०%छुट : अस्पताललाई अझै ६ करोड मुनाफा | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

औषधिमा कम्तीमा ५०%छुट : अस्पताललाई अझै ६ करोड मुनाफा

aausadhi

काठमाडौं, २७ साउन । हामी जोकोही औषधि किन्दा पसलेसँग प्रायः छुट माग्दैनौँ । कोही–कसैले मागिहाले पसलेले बढीमा एक–दुई प्रतिशत, त्यो पनि अप्ठ्यारो मान्दै छुट दिन्छन् ।

तर, काठमाडौंमै यस्तो औषधि बिक्री केन्द्र छ, जहाँ एक शब्द नबोली अधिकतम बिक्री मूल्यभन्दा ५० प्रतिशत कम मूल्यमा पाइन्छ । महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल परिसरभित्र रहेको मनमोहन कार्डियो थोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरले औषधिमा लेखिएको एमआरपी मूल्यभन्दा ५० प्रतिशत कममा बिक्री गर्दै आएको छ । डब्लुएचओ जिएमपी सर्टिफाइड राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीले उत्पादन गरेका औषधिमा यो छुट दिएको छ, वर्षौँदेखि ।

औषधिमा यति धेरै छुट अन्यत्र कतै पाइँदैन । शिक्षण अस्पतालबाटै सञ्चालित औषधिपसलले पनि एमआरपी मूल्यमै औषधि बेच्छ । बिरामीले न त डिस्काउन्ट माग्छन्, न त औषधिपसलले एक पैसा घटाउँछन् । तर, सेन्टरमा सञ्चालित औषधिपसलले बिरामीले नमागीकनै औषधिमा ५० प्रतिशतभन्दा बढी छुट दिन्छ । सेन्टरले केही सर्जिकल सामानमा झन्डै ७० प्रतिशतसम्म छुट दिँदै आएको छ ।

‘हामीकहाँ डिस्काउन्ट माग्नै पर्दैन । नमागेरै सबैले ५० प्रतिशतभन्दा बढी डिस्काउन्ट पाउँछन्,’ सेन्टरका डाक्टर भगवान कोइरालाले नयाँ पत्रिकासँग भने । सेन्टरले सुरुदेखि नै औषधिमा यस्तो छुट दिँदै आएको छ । सामान्य ग्यास्ट्रिक र उच्च रक्तचापको औषधिमा मात्र होइन, आइसियू र सिसियूमा प्रयोग हुने इन्जेक्सनमा पनि अधिकतम मूल्यभन्दा ५० प्रतिशत सस्तोमा औषधि बिक्री गर्दै आएको छ ।

सर्जिकल सामानमा प्रायः एमआरपी मूल्य नै लेखिँदैन र जति मन लाग्यो बेच्ने प्रचलन छ । तर, मनमोहन कार्डियो थोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरले ७० प्रतिशतसम्म छुटमा दिन्छ ।

५० प्रतिशत छुट दिँदा पनि ६ करोड नाफा
अस्पतालले फार्मेसी सञ्चालनका लागि १६ प्रतिशत नाफा छुट्याउँछ । त्यसबाहेकको नाफा उपभोक्ता (बिरामी) र अस्पताललाई बराबरी बाँड्छ । ‘कम्पनीले दिने छुटको ५० प्रतिशत राख्दा पनि गत आर्थिक वर्ष अस्पतालले एउटै औषधिपसलबाट ६ करोड नाफा कमाउन सफल भयौँ,’ डा. कोइरालाले भने ।

‘कन्सेप्ट’ डा. कोइरालाकै
डा. कोइरालाले मनमोहन कार्डियो थोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर सञ्चालनमा आउँदा नै अस्पतालमा आफ्नै फार्मेसी हुनुपर्नेमा जोड दिए । गंगालाल अस्पतालमा निर्देशक हुँदा पनि उनले यसै गरेका थिए । अस्पतालले आफ्नै फार्मेसी सञ्चालन गर्दा आवश्यक औषधि खरिदका लागि सार्वजनिक टेन्डर आह्वान ग¥यो । टेन्डर हाल्ने औषधि डिलर र औषधि कम्पनीहरूले अस्पताललाई ठूलो बोनस र कमिसन प्रस्ताव ग¥यो । तर, अस्पताल प्रशासनले बोनस, कमिसन केही चाहिँदैन, बरु थोरैमा कति मूल्यमा दिन सक्छौ भनेर सोध्यो । कम्पनीले केही दिन नपर्ने भएपछि निकै सस्तोमा औषधि उपलब्ध गरायो । ‘अस्पतालले निकै सस्तोमा औषधि पाएपछि बिरामीलाई केही राहत किन नदिने भनेर छुट दियौँ,’ उनले भने ।

शिक्षण अस्पतालमा पनि सुरु गरे तर, उनी हटेपछि पुरानै चाल भयो । कोइराला शिक्षण अस्पतालको निर्देशक हुँदा शिक्षण अस्पताल परिसरभित्र आधा दर्जनजति निजी मेडिकल पसल सञ्चालनमा थिए । अस्पताल प्रशासनले अस्पताल परिसरभित्रका सटर बर्सेनि करोडौँमा भाडामा लगाउँथ्यो । तर, डा. कोइराला निर्देशक भएपछि फार्मेसी अस्पतालले चलाउने र बिरामीलाई राहत दिने निर्णय गरे । निजी औषधिपसल अस्पताल परिसरबाट हटाए र अस्पतालको आफ्नै औषधिपसल सञ्चालनमा ल्याए ।

शिक्षण अस्पतालभित्रको औषधिपसलले पनि मनमोहन कार्डियो थोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरले जस्तै औषधिमा छुट दिन सुरु गर्यो । तर, डा. कोइराला अस्पतालको निर्देशकबाट हटेपछि छुट दिन बन्द भयो । एमआरपी मूल्यमै औषधि बेच्न सुरु भयो । उपभोक्ताले राहत पाएनन् । अस्पतालनजिक थुप्रै निजी औषधिपसल खुले ।

सरकारी अस्पतालका फार्मेसीले दिँदैनन् छुट
डा बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा सबै सरकारी अस्पतालले आफ्नै फार्मेसी सञ्चालन गर्न निर्देशन दिए । सरकारी अस्पताललाई आफ्नै फार्मेसी सञ्चालन गर्न र फर्मासिस्ट नियुक्त गर्न बजेट पनि छुट्याए । मनमोहन कार्डियो थोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरले जस्तै बिरामीलाई औषधिमा राहत दिऊन् भन्ने उनको नीति थियो ।

त्यसअघिसम्म सबै सरकारी अस्पतालले अस्पतालभित्रै फार्मेसीका लागि महिनाको लाखौँ लिएर भाडामा लगाउँथे । बाबुराम नेतृत्वको सरकारको निर्णयपछि पनि एक वर्षका लागि भाडामा दिइसकेको भन्दै अस्पतालहरूले आफ्नै फार्मेसी सञ्चालन गर्न अटेरी गरे । पछि सर्वोच्चमा मुद्दा प¥यो । सर्वोच्च अदालतले सबै सरकारी अस्पतालमा आफ्नै फार्मेसी हुनैपर्ने फैसला ग(यो । अहिले धेरैजसो सरकारी अस्पतालका आफ्नै फार्मेसी छन् । तर, बिरामीलाई औषधिमा छुट दिँदैनन, एमआरपी मूल्यमै बेच्छन् । निजी र सरकारी औषधिपसलमा किन्दा कुनै फरक नै छैन ।

इच्छाशक्ति भए सबैले गर्न सक्छन् डा. भगवान कोइराला
हामीले कम्पनीहरूसँग बल्कमा औषधि किन्दा पाएको नाफालाई आफूसँग सबै नराखी बिरामीलाई पनि सेयर गरेका हौँ । जति मार्जिन आउँछ सबै नाफा आफैँ मात्र लिनुपर्छ भन्ने के छ र सरकारी अस्पतालको हकमा त त्यो व्यक्तिगत पनि भएन । राम्रा अस्पताललाई कम्पनीहरूले धेरै मार्जिन राखेर औषधि उपलब्ध गराउँदा रहेछन् । उत्पादन मूल्य र बिक्री मूल्यसम्म आउँदा निकै फरक आउँदो रहेछ ।

हामीले पाएको नाफा बिरामीसँग आधा–आधा बाँड्यौँ । हामी १५ प्रतिशत नाफ फार्मेसी सञ्चालनका लागि छुट्याउँछौँ र त्योभन्दा बढी चाहिँ अस्पताल र बिरामीका लागि आधा–आधा गर्छौँ । सबै सरकारी अस्पतालमा यस्तो सम्भव हुन्छ भन्ने लाग्छ । शिक्षण अस्पतालमा पनि यस्तै व्यवस्था मैले लागू गरेको हुँ । अहिले त्यो छ–छैन थाहा भएन । कुर्सीमा बस्नेले व्यक्तिगत स्वार्थ नराखीकन जनतालाई कसरी राहत दिने भनेर सोचियो भने गर्न सकिन्छ । जनताका लागि केही गर्ने इच्छाशक्ति चाहिन्छ । यति सानो ठाउँमा जनतालाई त्यति छुट दिएर पनि वार्षिक ६ करोड नाफा कमायौँ हामीले ।

केही औषधिको एमआरपी मूल्य र अस्पतालले बेच्ने मूल्य
कालरिडोल (प्यारासिटमोल सोलुसन फर इन्फ्युजन) एमआरपी भारु – २८०
अस्पतालले बेच्ने मूल्य नेरु – २७३
मेट्रपेनम इन्जेक्सन (एन्टिबायोटिक) एमआरपी भारु – ६४९
अस्पतालले बेच्ने मूल्य नेरु – ७५६
इनेक्सापारिन सोडियम इन्जेक्सन (रगत पातलो बनाउने इन्जेक्सन) एमआरपी भारु ५६९
अस्पतालले बेच्ने मूल्य नेरु – ६१५
रोभिस्टा–२० (कोलेस्ट्रलको औषधि) एमआरपी नेरु – ४०५
अस्पतालले बेच्ने मूल्य नेरु– २०४
लोजिपिल (प्रेसरको औषधि) एमआरपी नेरु – ७६
अस्पतालले बेच्ने मूल्य नेरु – ३९
अल्पाइन २.५ (प्रसरको औषधि) एमआरपी नेरु ३१.५
अस्पतालले बेच्ने मूल्य नेरू – १६
बोन्टेक्स (क्याल्सियम) एमआरपी नेरु ९०
अस्पतालले बेच्ने मूल्य नेरु – ५०
पेटोर–४० (ग्यास्ट्रिकको औषधि) एमआरपी नेरु ८०
अस्पतालले बेच्ने मूल्य नेरु – ४९
प्रोफिक्स (एन्टिबायोटिक) एमआरपी नेरु २००
अस्पतालले बेच्ने मूल्य नेरु – १०३
मेटलक (ग्यास्ट्रिकको औषधि) १० ट्याब्लेट एमआरपी नेरु २९
अस्पतालले बेच्ने मूल्य नेरु – १६

अस्पतालले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय औषधि उत्पादकसँग औषधि सीधै खरिद गर्छ । औषधि उत्पादकले अस्पताललाई बोनस र कमिसनको प्रस्ताव गर्छन् । तर, हामी उत्पादकसँग कमिसन र बोनस लिँदैनौँ । कति छुट दिन सक्नुहुन्छ भनेर सोध्छौँ । र उनीहरूले दिने छुटको ५० प्रतिशत उपभोक्तालाई दिन्छौँ । यसरी उपभोक्ताले एमआरपीभन्दा ५० प्रतिशत सस्तोमा औषधि पाइरहेका छन् । आजको नयाँ पत्रिकामा खवर छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);