बजेट दुईधारे हो, दोधारे होइन : अर्थमन्त्री | ईमाउण्टेन समाचार

Our Network

असोज ९ २०८३, शनिबार

बजेट दुईधारे हो, दोधारे होइन : अर्थमन्त्री

yubaraj

काठमाडौं, १७ जेठ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष ०७६/७७ का लागि ल्याएको बजेट दुईधारे भएको बताएका छन् ।

उनले नागरिकका तत्कालीन आवश्यकता पूर्ति गर्ने तथा विकासको दीर्घकालीन आधार तयार गर्ने गरी बजेट ल्याएको बताएका हुन् । ‘बजेट दुईधारे हो, दोधारे होइन,’ उनले भने, ‘हाम्रो जस्तो मुलुकमा यस्तै दुईधारे बजेट राम्रो हो ।’ बजेटबारे जानकारी दिन बिहीबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री खतिवडाले बजेटले लिएका सबै लक्ष्य हासिल हुने दाबी गरे । उनले सामाजिक सुरक्षाभत्ता वृृद्धि, स्थानीय पूर्वाधार विकास कार्यक्रमलगायत कार्यक्रमको बचाउ पनि गरे ।

९ अर्ब ९० करोडको बजेटमा चनाखो हुनुपर्छ 
मन्त्री खतिवडाले स्थानीय पूर्वाधार विकास कार्यक्रमप्रति चनाखो हुनुपर्ने बताएका छन् । सांसदको नेतृत्वमा परिचालन हुने यस कार्यक्रमको दुरुपयोग हुन नदिन सबै पक्ष चनाखो हुनुपर्ने उनले बताएका हुन् । ‘जनप्रतिनिधिलाई बाइकट गरेर विकास हुँदैन,’ उनले भने, ‘यस कार्यक्रमअनुसार सांसदलाई पैसा बाँडेको नभई उहाँहरूलाई आयोजना छनोट र अनुगमनको अधिकार दिएको हो ।’ अर्थमन्त्रीले आगामी आर्थिक वर्ष ०७६/७७ का लागि सांसदको नेतृत्वमा चल्ने विकास कार्यक्रमको बजेट बढाएर ६ करोड रुपैयाँ पुर्‍याएका हुन् । यसका लागि अर्थमन्त्रीले ९ अर्ब ९० करोड रुपैयाँ बजेट विनियोजन गरेका छन् ।

लक्ष्य हासिल हुन्छ
आगामी आवका लागि सरकारले ८.५ प्रतिशत आर्थिक वृद्धिको महत्वाकांक्षी लक्ष्य लिएको छ । तर, अर्थमन्त्री खतिवडाले तोकिएको लक्ष्य हासिल हुने दाबी गरे । ‘चालू आवमा ८ प्रतिशतको आर्थिक वृद्धि हासिल हुने भनिएको थियो, तर माथिल्लो तामाकोसी र मेलम्ची आयोजना समयमै निर्माण सम्पन्न नहुँदा प्रभाव पर्‍यो,’ उनले भने, ‘यद्यपि, चालू आवमा हासिल हुने ७ प्रतिशतको आर्थिक वृद्धि पनि उच्च नै हो । अर्थमन्त्री खतिवडाले आगामी दुई वर्षभित्र कर्णाली र प्रदेश दुईलाई सुरुमा पूर्ण उज्यालो बनाउने बताए । त्यस्तै, हरेक प्रदेशलाई कम्तीमा दुईवटा अन्तर्राष्ट्रिय नाकामा जोड्ने गरीसमेत बजेट विनियोजन गरिएको उनले बताए ।

 निजी क्षेत्रद्वारा बजेटको तारिफ
आगामी आर्थिक वर्ष ०७६/७७ को बजेटलाई निजी क्षेत्रले स्वागत गरेका छन् । नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले बिहीबार विज्ञप्ति जारी गर्दै बजेटबारे सकारात्मक प्रतिक्रिया दिएका छन् । राष्ट्रिय अर्थतन्त्र निर्माणका लागि उत्पादनमा जोड दिँदै केही ठूला भौतिक पूर्वाधारलाई तीव्रताका साथ सम्पन्न गर्ने कार्यक्रमसहित बजेट आएको भन्दै परिसंघले बजेटको तारिफ गरेको छ ।

नेपाल चेम्बर अफ कमर्सले बजेट समग्रमा उत्साहप्रद भएकाले  कार्यान्वयनमा जोड दिनुपर्ने बताएको छ । उद्योगले पैठारी गर्ने औद्योगिक कच्चा पदार्थको भन्सार दर, तयारी मालवस्तुको भन्दा कम्तीमा एक तह कम गर्ने, तयारी पोसाक उद्योगमा ५ प्रतिशत ब्याजदर रिवेट गर्ने नीति एवं स्वदेशी कपडा उद्योगले उपयोग गर्ने विद्युत् महसुलमा ५० प्रतिशत छुट र बैंकबाट लिने कर्जामा ५ प्रतिशत ब्याज अनुदान दिने व्यवस्थाले औद्योगिक उत्पादनमा सकारात्मक प्रभाव पार्ने चेम्बरले जनाएको छ ।  यो समाचार आजको नयाँ पत्रिका दैनिकमा लेखेको छ ।