दार्चुला, १५ चैत । भारतको धारचुलामा ३ दिनदेखि अलपत्र परेका २ सय ६ जना नेपालीको उद्धार गरिएको छ । कामको सिलसिलामा भारतको विभिन्न सहरहरुबाट आएका २ सय ६ जना नेपालीहरुलाई ३ दिनपछि नेपाल ल्याईएको हो ।
३ दिन देखि भारतमा अलपत्र परेका नेपालीहरुलाई नेपाली र भारतीय अधिकारी विचको समन्वयमा उद्धार गरिएको महाकाली नगरपालिकाका प्रवक्ता पुस्कर राज जोशीले जानकारी दिनुभएको छ । कोरोना भाईरसको संक्रमण नियन्त्रणका लागि नेपाल सरकारले गरेको लकडाउनका कारण उनीहरुलाई नेपाल प्रवेशमा रोक लगाईएको थियो ।
उद्धार गरिएका मध्ये १ सय ६८ जना दार्चुला, १५ जना बैतडी, ९ जना जाजरकोट, ४ जना बाँके, २ जना बाजुरा, ४ जना कैलाली र ४ जना बझाङका छन् । सम्बन्धीत स्थानीय तहले क्वारेन्टाईन तथा व्यवस्थापन गर्ने भएपछि जिल्ला प्रशासन दार्चुलाले उनीहरुको उद्धार गरेको हो ।
उद्धार गरिएका दार्चुला बाहेकका जिल्लाका हकमा महाकाली नगरपालिकाले सवारी साधनको व्यवस्था गरी सम्बन्धित जिल्लामा पठाईएको छ ।